Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

प्रहरीसहितको टोली परिचालन, विशेषज्ञ टोली पनि झिकाइँदै

सन्धीखर्क, १९ कात्तिक, । अर्घाखाँचीमा चितुवाको आतंक नरोकिएपछि स्थानीय प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास जारी राखेको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार स्थानीयसहित ४० जना प्रहरीको टोली स्थानीय सामुदायिक वनमा परिचालन गरिएको छ । उनीहरुले बस्ती नजिकको जंगलको झाडी सफा गर्ने र चितुवालाई पासोमा पार्न खोर राख्ने काम गरेका छन् ।

प्रजिअ भुसालले भने, ‘वन प्राविधिकहरुसँग सल्लाह गरेर ढिकुरा, किमडाँडा र कुर सामुदायिक वनमा थप तीन वटा खोर राखेका छौं । खोरमा बाख्रो पनि राखिएको छ, ताकि बाख्रो खान आएको चितुवालाई खोरमा थुन्न सकियोस् ।’

विशेषज्ञ टोली झिकाइँदै

गत वर्ष पनि चितुवालाई थुन्न भनेर १२ वटा खोर राखिएको थियो । तर, चितुवा बस्तीमा छिर्ने र मान्छे मार्ने क्रम रोकिएको छैन । प्रजिअ भुसालका अनुसार विगत पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै २ देखि १५ वर्ष उमेर समूहका छन् ।

पछिल्लो पटक भूमिकास्थान नगरपालिका ९ ढिकुरामा मदन घिमिरेका ४ वर्षका छोरा आर्यनको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । यसबारे जानकारी पाएलगत्तै प्रजिअ भुसाल घटनास्थल पुगेर चितुवा नियन्त्रणको उपायबारे पहल थालेका थिए ।

चितुवाको आक्रमण नरोकिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञको टोली पनि बोलाइएको छ । चितुवालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामी प्रयासरत छौं, चितवन राष्ट्रिय निकुञ्जबाट पनि विशेषज्ञ टोली आउँदैछ,’ उनले भने ।

घर बाहिर निस्किन डराउँछन् बालबालिका

स्थानीयबासीको सक्रियतामा अर्घाखाँचीको सामुदायिक वन संरक्षणमा राम्रो प्रगति भएको छ । जंगल घना छ, तर चितुवालगायतका मांसाहारी जनावरका लागि आहार छैन । त्यसैले त्यस्ता जनावर बस्तीमा छिर्ने र आक्रमण गर्ने गरेको स्थानीय बताउँछन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि खाँचीकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, अर्घा, ढिकुरा, किमडाँडा लगायतका बासिन्दा त्रसित छन् । बालबालिकाहरु घर बाहिर निस्किनसमेत डराउने गरेको स्थानीय बताउँछन् ।

चितुवा नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीयबासीले बाघ थुन्न खोर राख्ने, झाडी सफा गर्ने लगायतका काम गर्दै आए पनि आक्रमण रोकिएको छैन । त्यसैले मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका सभापति अशोक पौडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ध्यानाकर्षणपत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘स्थानीयबासिन्दा बाघको आक्रमणबाट निकै त्रसित छन्, जसको कारण बाल मनोविज्ञानमा समेत असर परेको छ ।’

साथै अत्याधुनिक उपकरणको प्रयोगबाट गतिविधि निगरानी गरी मानवीय क्षति पुर्‍याउने बाघ वा चितुवाको पहिचान गरी अन्य सुरक्षित स्थानमा लगेर पुनस्र्थापना गर्नसमेत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया