Online Bichar
सोमबार, कार्तिक १०, २०८३ | Monday, October 26, 2026

झापा, १२ भदौ २०७८ । लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीबहाव बढेपछि कतै डुबान, त कतै कटानले दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा रहेको छ।

पानीको निकास नहुँदा सहरी क्षेत्रका पालिकाहरू पनि जलमग्न बनेको छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाले झापा गाउँपालिका– ५ स्थित पन्थपाडाका १२ घर डुबानमा परेको छ। घर–आँगनमा वर्षाको पानी २ फिटसम्म जमेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। डुबानमा परेका परिवारलाई नजिकै रहेको महेन्द्र माविमा राखिएको छ ।

घर आँगनमा जमेको पानी निकासका लागि प्रहरी चौकी शरणामतीको टोलीले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए। त्यस्तै माई खोलामाआएको बाढीले गौरीगंज गाउँपालिका– १ स्थित रंगेथानमा तटीय क्षेत्र तीव्र रुपमा कटान भइरहेको छ।‘खोलाले तटीय क्षेत्रको ३५(४० मिटर बाँध कटान गर्दै खेतबारीसम्म पानी आइपुग्न लागेको छ,’ डिएसपी थापाले भने, ‘निरन्तर पानी परेमा नदीमा आएको बाढीले धान खेती डुबान गर्दै माहाभारा तथा कुन्जीवारि क्षेत्रका ८० देखि ९० घर डुबानमा पर्ने सम्भावना देखिएको छ।’

बस्ती डुबानबाट जोगाउन बाँध बाँध्नका लागि प्रहरी चौकी महाभाराले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए।अहिलेसम्म बाढीका कारण जिल्लामा कुनै मानवीय र भौतिक क्षति नभएको उनको भनाइ छ। घाग्रा खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका–५ स्थित पाण्डपपुर बस्ती जोखिम रहेको छ।खोलामा आएको बाढीले अर्जुनधारा–५ मा तटीय क्षेत्र कटान गरिरहेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले जानकारी दिए। तटीय क्षेत्र यसरी नै कटान हुँदै गए त्यस क्षेत्रमा ठूलो क्षति हुन सक्ने स्थानीयको अनुमान छ। स्थानीय देवराज बुढाथोकीको घर छेउसम्म खोलाले कटान गरिरहेको छ।

त्यसैगरी कचनकवल– ५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ। मेचीनदीले केहीदिन अघि ११२ नम्बर सीमापिलर बगाएर लगेपछि त्यसका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले जनाएको छ।

११२ नम्बर पिलर नजिकै नेपाली र भारतीय दुवै बस्ती रहेको छ। सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई रुद्र श्रेष्ठले जानकारी दिए। नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र पनि कटान गर्दै बस्ती बगाउने खतरा छ, उनले भने। कचनकवल– ४ स्थित ११९-२८ नम्बर सानो पिलर बगाउने अवस्थामा पुगेको छ।

जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कचनकवलका प्रहरी निरीक्षक भक्त थापाले जानकारी दिए। साथै ११९-२३ नम्बर पिलर पानीमा डुबेको उनको भनाइ छ। साथै कचनकवलका अधिकांश स्थान जलमग्न भएको स्थानीयबासीहरु बताउँछन्।

अविरल वर्षाले खोला तथा नदीहरूमा पानी बढिरहेकोले जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३१ वटा वडाको अवस्था बुझ्न स्वयमसेवक परिचालन गरिसकेको विपत् व्यवस्थापन समितिका सदस्यलोकराज ढकालले जानकारी दिए। जिल्लाकामेची, निन्दा, माई, कनकाई, मावा, देउनिया, हडिया, अदुवालगायतको खोलामा पानी वहाव बढेको जनाइएको छ।टाइम्स अफ प्रदेशबाट साभार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments