Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १९ कात्तिक । आजदेखि औपचारिक रुपमा तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय सामानको मूल्य दुई प्रतिशतसम्म बढेको छ । तर, बजारमा सरकारको कुनै अनुगमन छैन ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको तिहारमा धेरै भाइमसलाहरुको मूल्यवृद्धि भएको नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठले बताए । संघका महासचिवले भने, ‘धेरै मसलाहरुको मूल्य बढेको छ, तर सबै वस्तुको मूल्य बढेको चाहिँ छैन ।’

श्रेष्ठले किसमिस ३ सय देखि ३ सय ५० रुपैयाँमा बेच्दै आएकोमा ६ सय रुपैयाँ पुगेको बताए । उनका अनुसार १ हजार २ सय रुपैयाँमा गत वर्ष बिक्री गरेको बदाम १ हजार ४ सय ५० रुपैयाँसम्म पुगेको छ भने गत वर्ष २ सय देखि १३ सय रुपैयाँसम्म रहेको पेस्ता अहिले १ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको छ ।
तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय सामानको मूल्य दुई  प्रतिशतसम्म बढेको छ । तर, बजारमा सरकारको कुनै अनुगमन छैन

यस वर्ष मखनाको मूल्य भने अत्यधिक बढेको छ । २ सय प्रतिशत भन्दा बढीले मखनाको मूल्य बढेको उनले बताए । अघिल्लो वर्ष ३ सय रुपैयाँमा बिक्री भएको मखना यस वर्ष मूल्य बढेर १ हजार रुपैयाँसम्म पुगेको उनले जानकारी दिए ।अघिल्लो वर्षको तुलनामा नरिवल र ओखरमा पनि मूल्यवृद्धि भएको छ । गत वर्ष ३ सय ७५ रुपैयाँमा बिक्री भएको नरिवल यसवर्ष ५ सय रुपैयाँ पुगेको छ भने ३ सय ८५ रुपैयाँमा बिक्री भएको ओखर यस वर्ष ७ सय रुपैयाँसम्म पुगेको महासचिव श्रेष्ठले बताए ।

बजारमा पैदल हिँड्नै नसक्ने भीड

तिहारको किनमेल गर्ने भीडले असन, इन्द्रचोक खचाखच भरिएको छ । चारपांग्रे सवारी साधनमा सरकारले रोक लगाएको छ । तर, दुईपांग्रे सवारीलाई पनि असन बजार कट्न निकै सास्ती बेहोर्नु पर्ने अवस्था छ भीडका कारण । पैदल हिँड्नेलाई पनि कम सास्ती छैन ।

जमलबाट असन हुँदै नरदेवीसम्म पुग्नका लागि १० देखि १५ मिनेटको पैदल दुरी हो । तिहारको घुइँचोले गर्दा त यतिबेला १० मिनेटको दूरी काट्न पनि कम्तिमा आधाघण्टा लाग्ने गरेको छ । आइतबार करिब ३ बजेतिर असन बजारमा यस्तै भीड देखियो । अझ बिहान र साँझको समयमा हिँड्नै मुस्किल पर्ने बटुवा बताउँछन् ।

 

‘दशैंअघि घुइँचो देखिएको असन बजार, फूलपातिपछि त सुनसान थियो’ असनमा विगत २० वर्षदेखि इलेक्ट्रोनिक्स बस्तुहरुको व्यापार गर्दै आएका चिरञ्जीवी आचार्य भन्छन्, ‘पछिल्लो केही दिनदेखि अत्यधिक घुइँचो बढेको छ ।’ तिहारका बेला यस वर्ष मात्रै नभएर सधै अत्यधिक घुइँचो हुने गरेको ती व्यापारी बताउँछन् ।

भाइमसला, झिलिमिली बत्ती र माटोको दियो बढी बिक्री

आइतबार मध्यान्ह असन बजारमा विभिन्न दृश्य देखिए । असन तथा इन्द्रचोकमा सबैभन्दा धेरै घुइँचो भाइमसला पसलहरुमा देखियो । असन बजारबाट इन्द्रचोकतर्फ जाने बाटोमा पसलहरुमा ग्राहकहरुको घुइँचो थियो । व्यापारीलाई सामान बिक्री गर्न भ्याईरनभ्याईको थियो ।

नरिवल, सुपाडी, किसमिस, काजु, बदाम, ओखर, खजुर, पास्ता लगायतको समीश्रण गरेको प्याकेट अगाडि फिँजाइएका थिए । आफ्नो गच्छे अनुसारका ५० रुपैयाँदेखिको प्याकेटअरु पसलमा थिए । नजिकै रहेको झिलिमिली वत्ती पसलमा पनि घुइँचो व्यापक थियो ।

‘पोहोर लागेका वत्तिहरु बिग्रिए । कति त राखेकै ठाउँमा मुसाले खाइदियो, त्यही भएर फेरि किन्न आएको’ बिजुली पसलअगाडि उभिइरहेकी रश्मी महर्जनले ‘चलीआएको चलन, वत्ति त बाल्नैपर्‍यो ।’

यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल बताउँछन् । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत मौसमी ब्यापारका रुपमा बत्ती बेच्ने क्रम सुरु भएको छ । असन बजारमा मात्रै होइन, सडकपेटीमै पनि यस्ता बत्ती बेच्नेहरु भेटिन्छन् । असनबाट इन्द्रचोक नपुग्दै भेडासिङ चोकतिर जाने बाटामा माटाका भाँडाकुडाहरुको थुप्रो नै लागेको थियो ।

‘व्यापार धेरै राम्रो नभए पनि ठीकै छ’ माटोका भाँडाकुडा बेचिरहेका एक व्यापारीले भने, ‘विजुली वत्तिको बढी प्रयोगले गर्दा अलि कम व्यापार हुने गरेको छ ।’

तपाईको प्रतिक्रिया