Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

शान्ति सुब्बा

गौरादह, १५ साउन २०७८ । झापाको गौरादहमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज खोप लगाउने कार्यक्रम शुक्रबार(आज)सम्पन्न भएको छ । साउन १३ गते बुधबारबाट सञ्चालन भएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रममा ४ हजार ८ सय जनाले खोपको पहिलो मात्रा लगाएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा बुधबारबाट लगाउन थालिएको हो ।यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, बैंक बित्तिय संस्थामा कार्यरत कर्मचारी, पेट्रोल पम्पका कर्मचारी र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु लगायतले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

३ दिन सम्म सञ्चालन भएको खोप कार्यक्रममा साउन १३ गते पहिलो दिन १ हजार २ सय ६९ जनाले खोप लगाएका थिए । दोस्रो दिन १ हजार ५ सय ५८ जनाले र आज तेस्रो दिन १ हजार ९ सय ७३ जनाले खोप लगाएको स्वास्थ्यका सहसंयोजक श्रेष्ठले बताउनुभयो ।

गौरादह नगरपालिका भित्र तोकिएको ५ वटा खोप केन्द्रबाट शुक्रबार(आज) तेस्रो दिन ५५ वर्ष माथि उमेर समूह भएका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रहरी, बैंक तथा बित्तिय संस्था, सवारी चालक, वैदेशिक रोजगार, सरसफाई कर्मचारी, शिक्षकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

जसमा ५५ वर्ष माथिका ८ सय १६ महिला र ९ सय ५८ पुरुष गरि १ हजार ७ सय ७४ जनाले खोप लगाएका छन् । यस्तै, स्वास्थ्यकर्मी ६ महिला र १४ पुरुष गरि २० जना, बैंक वित्तिय संस्थाका १४ महिला र १६ पुरुष गरि ३० जना, सवारी चालक १ महिला र ३७ पुरुष गरि ३८ जना, सुरक्षाकर्मी पुरुष १ जना, प्रहरी २ महिला र २ पुरुष गरि ४ जना, शिक्षक ३६ महिला र ४२ पुरुष गरि ७८ जना, सरसफाई कर्मचारी ३ महिला र ३ पुरुष ६ गरि ६ जना रहेका छन् ।

गौरादह स्वास्थ्य चौकी, महारानीझोडा स्वास्थ्य चौकी, कोहबरा स्वास्थ्य चौकी, जुरोपानी स्वास्थ्य चौकी र बैगुन्धुरा स्वास्थ्य चौकी गरि ५ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसैबीच, साउन २० गतेबाट गौरादहका ५० देखि ५४ वर्ष उमेर समूहकालाई जोन्सन एन्ड जोन्सनको खोप दिइने कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया