Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, कात्तिक १५ राष्ट्रिय परिचय पत्र छपाइको काम सुरू भएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहिबारदेखि परिचय पत्र छपाइको काम औपचारिक रूपमा सुरू गरेको हो। गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालयभित्र राष्ट्रिय परिचय पत्र छपाइको काम सुरू गरिएको हो।

पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाइको काम गरिने छ।

तीन वर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालू आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेस्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिका तय गरेको छ।

पहिलो चरणमा छापिएको राष्ट्रिय परिचयपत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ। पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाइ गरेपछि कार्ड छापिने भए पनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिन्छ।

नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ। सोही व्यवस्था अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरि सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि छपाइको काम सुरू गरेको हो।

नागरिकको तथ्याङ्क संकलनका लागि केन्द्रले पाँचथर जिल्ला प्रशासन कार्यालयमा फिक्स स्टेशन र वडा वडामा मोबाइल स्टेशन खडा गरेको छ। वडा वडामा परिचालन भएका २० वटा टोलीले संकलन गरी पठाएको विवरण सिंहदरबारस्थित सेन्टर सर्भरमा आएपछि केन्द्रीय अधिकारीले परीक्षण गरी कार्डमा भरिने विवरणलाई अन्तिम टुंगो लगाउँछन्।

त्यसपछि पुनस् जिल्लास्थित नागरिकको बायोमेट्रिक परीक्षण पश्चात मात्रै कार्ड वितरण गर्ने गरिन्छ। तीन वर्षभित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्रसँग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाइ गर्न सक्ने क्षमताको एउटा मात्रै मेसिन छ।

निर्धारित समयभित्रै कार्ड वितरण गर्नका लागि कम्तीमा प्रतिघण्टा ४ हजार कार्ड छाप्न सक्ने मेसिन १८ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मेसिनको क्षमता अभिवृद्धितर्फ लाग्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले बताए। २०६७ सालमा सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनेता पनि अहिलेसम्म हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया