Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

गौरादह, २८ जेठ २०७८ । किसानले लगाएको चैते धानको मूल्य दिनप्रतिदिन ओरालो झरिरहेको छ। चैतेधान पाकेको सुरुवाती समयमा प्रतिमन ७ सयका दरले बिकेको धान अहिले ५ सय ६० मा मुस्किलले बिकिरहेको छ। केही ब्यापारीहरुले धान किन्न मानिरहेका छैनन्। ठुला सेलर मिलले सहज रुपमा धान नलिएको भन्दै ब्यापारीहरुले धान किन्न नमान्दा धानको मूल्य घटेको ब्यापारी बताउँछन्।

फाट्टफुट्ट रुपमा किसानले धान निकाल्दा धानको मूल्य उच्च भएपनि अधिकांश किसानको धान पाकेपछि मूल्य घटेको छ। किसानको धान खेतमा हुँदा मुल्य उच्च राख्ने ब्यापारी सबै किसानको धान पाक्नसाथ मूल्य घटाउछन। किसानको धान खेतमा पाकेर पहेलो भएपनि धानको मूल्य घटेकाले धान काट्न किसानपनि आनाकानी गरिरहेका छन। धान पाकेर पहेँलो भएपछि किसान धानको भाउ काट्न ब्यापारीको काँटामा धाइरहेका छन।आफुले लगाएको बाली सस्तोमा बेच्ने किसानलाई मन छैन।धानको मूल्य केही रुपैयाँ भएपनि बढी लिने उदेश्यले एउटै किसान धेरै काँटामा धानको दर बुझ्न हिडिरहेका छन।

कृषि उपजले मूल्य नपाउने होभने खेतीबाट किसान पलायन हुने अवस्था सृजना हुन सक्छ।धानको मूल्य सोध्दा ब्यापारीले भुसको मूल्य बताउँछन्।अहिले भुस प्रति मन ५ सय २० मा बिकी रहेको छ भने धान ५ सय ६० मा किनिरहेका छन।धान र भुसको मूल्य बराबरी जस्तो भएको छ।धानको उचित मूल्य निर्धारण गरिनु पर्ने किसानको माग छ।खाद्यान्न बालिका रुपमा प्रयोग गरिने धानको कम्तीमा किसानले लागत मुल्य पाउनु पर्ने र बजारीकरण हुनु पर्ने किसानको भनाइ छ। कम्पनीबाट उत्पादित सबै समानको मूल्य बढेर आकाशिएको छ। किसानले उत्पादन गर्ने सामग्रीको मूल्य भने दिनैपिछे ओरालो लागिरहेको छ। किसानहरु ठुला सेलर मिल सम्म पुगेर धान बिक्री गर्न नसकेकाले स्थानीय ब्यापारीले सेलर मिल सँग समन्वय गरेर मूल्य घटाएको किसानहरुले आशंका गरेका छन।

धान ब्यापारीले धान बिक्री गर्न आउने किसान सँग मनोमानी भाउ दिने गरेको किसान गौरादह-२ का किसान दुर्गा दाहाल बताउँछन्। भदै धान खेतमा पाकेपनि सेलर मिलले धान किन्न आनाकानी गरेकाले धानले मूल्य नपाएको गौरादहमा धान काँटा गरेर बसेका ब्यापारी असोक चुडाल बताउँछन्। किसानले उत्पादन गरेको बालिलाई उचित मुल्यमा खरिद गर्ने मन हुँदाहुँदै पनि आफुले बिक्री गर्ने सेलर मिलले धान सहज रुपमा नलिएपछि किसानलाई उचित मूल्य दिन नसकेको चुडाल बताउँछन्। धान रोप्ने समयमा रासायनिक मल र बीउ नपाएर हैरान भएका किसान धान बिक्री गर्ने समयमा पनि निराश भएका छन। आफुले लगाएको बाली पाकेर आँगनमा ल्याएपछि किसानले अगाडि गरेको सम्पुर्ण दुख बिर्सने समय हो। घामपानी सहेर कष्ट गरि बाली लगाउदा भएको दुस्ख बिर्सने समयमा किसानलाई धान नबिकेर अर्को पीडा थपिएको छ। धानको उचित मूल्य नभएर किसान मारमा परेको समयमा तिनै तहका सरकार मौन छन। किसानले धान उत्पादन गरेपनि राज्यले धानको न्युनतम मूल्य पनि तोकेको छैन।किसानको उद्वारका लागि राज्य उदासिन बन्दा ब्यापारीले मनोमानी ढंगले धान किनिरहेका छन। किसानलाई उद्वार गर्न र उनीहरुको पक्षमा कसैले पनि आवाज नउठाएको गौरादह-७ का किसान युबराज चुडाल बताउँछन्। बिनिता निरौला(प्रशिक्षार्थी पत्रकार)

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments