Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १४ कात्तिक, । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकमा मात्रै सञ्चालनमा आउने भएको छ ।

आयोजनाको हाइड्रोमेकानिकलतर्फको काममा ढिलाई हुँदा एक वर्षपछि धकेलिएको हो ।

लक्ष्यअनुसार आगामी पुषमा तामाकोशीको पहिलो युनिट सञ्चालनमा आइसक्नुपर्थ्यो । गएको बैशाखमै यो आयोजनाका ६ वटै युनिट सञ्चालन गरिसक्ने योजना थियो ।

तामाकोशी हाइड्रोपावर कम्पनीका कार्यकारी प्रमुख विज्ञान अधिकारीका अनुसार अब अगामी असारमा मात्र टनेलमा पानी खसाल्न सुरु गरिनेछ र आउँदो कात्तिकबाट आयोजनाले व्यवसायिक उत्पादन सुरु गर्नेछ ।

२०७२ साल असारमै बिजुली उत्पादनको लक्ष्य राखेर निर्माण थालिएको यो आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण थप ३ वर्ष ढिलाइ भयो ।

२०६७ साल भदौदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाको निर्माणमा ढिलाई हुँदा लागतसमेत बढ्दै गएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ ।

यस्तै ती संस्थामा कार्यरत कर्मचारीले रकम जम्मा गर्ने सञ्चयकर्ता र देशभरका सर्वसाधारण र प्रभावित जिल्लावासीले समेत लगानी गर्न पाउने सेयरका कारण प्रायः नेपाली परिवारको प्रत्यक्ष अप्रत्यक्ष लगानी आयोजनामा रहनेछ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बिमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया