अनलाइनविचार
गौरादह, ३१ वैशाख । लामो प्रतिक्षा पछि गौरादह नगरपालिकामा कोभिड–१९ अस्थायी अस्पताल संचालनमा आउने निश्चित भएको छ । अस्पतालको लागि आवस्यक चिकित्सक सहितको जनशक्ति नियुक्ति गर्न छनौट प्रक्रिया पूरा भएको नगरपालिका श्रोतले बताएको हो ।
संघीय सरकारको परिपत्र अनुसार कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्न नगरपालिकाको पदपूर्ती समितिले गत बर्षको मंसिर २३ गते गरेको विज्ञापनको आधारमा दरखास्त पेश गर्ने परीक्षार्थीहरुको प्रारम्भिक सूची वैशाख २८ गते प्रकाशन गरी अन्तवार्ताको मिति आजलाई तोकेको थियो । आज भएको परीक्षाबाट एक एमबिबिएस डक्टर सहित दुई जना स्टाफ नर्स करार सेवामा छनौट भएका छन् ।
एक जनाको मेडिकल अधिकृत पदमा गौरादह नगरपालिका ९ का एमबिबिएस डक्टर निरज निरौला छनौट भएका हुन् । त्यसैगरी दुई जनाको दरबन्दी रहेको स्टाफ नर्समा गौरादह ५ की अस्मिता निरौला र गौरादह ९ की सरिना बस्नेत छनौट भएकी छन् ।

नेपाल सरकारले अस्पताल नभएका देशै भरका ६४९ स्थानीय तहहरुलाई ५ बेडको अस्पताल तत्काल सञ्चालन गर्न गराउन भनि ९ महिना अगाडि २०७७ भदौ २३ गते पत्रचार गरेको थियो ।
केन्द्र सरकारले भदौमा नै दश लाख रुपैयाँ र मंशिरमा १० लाख गरेर २० लाख सो अस्पताल संचालन गर्न नगरपालिकाको खातामा बजेट समेत पठाइसकेको छ ।
नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संक्रमणले गौरादह पनि उच्च जोखिममा देखिएको छ । परीक्षाबाट जनशक्तिको पदपूर्ती भएपछि गौरादहको आइसोलेसनमा रहेका संक्रमितले स्वास्थ्य मापदण्ड र प्रोटोकल अनुसार स्वास्थ्य उपचार पाउने निश्चित भएको छ ।






