झापा,२३ वैशाख २०७८ । नेपालमा दोस्रो लहरको कोरोना भाइरस देखिएसँगै प्रत्येक दिन संक्रमितको संख्यामा वृद्धि गएको छ । यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पनि थप वृद्धि हुँदै गएको पाइएको हो । आज एकैदिन थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ८ हजार ९ सय ७० र एन्टिजेन परिक्षणबाट १ सय जनामा संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ३ सय ६७ जना र एन्टिजेन परिक्षणबाट ७ सय ७५ जना गरि कुल २१ हजार १ सय ४२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २५ लाख ७८ हजार ४ सय १८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ९५ हजार ५ सय ७८ जनाको र निजी बाट ९ लाख ८२ हजार ८ सय ४० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ सय १४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ७२ हजार ५ सय ६१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ६७ हजार २ सय ४६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ हजार ३ सय १५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ५२ जना आइसियुमा र २ सय १ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेप्लान्चोक, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज सम्मकै उच्च ५४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






