बिज्ञापन गरेको ६ महिना बितिसक्दा पनि डक्टर, नर्सहरुको नियुक्ति पक्रिया अलपत्र
सबिन खतिवडा
गौरादह, २३ वैशाख २०७८ । झापाको गौरादह नगरपालिकामा हालसम्म पनि कोभिड–१९ अस्थायी अस्पताल सुरु भएको छैन । झापाका १५ वटा पालिका मध्ये गौरादह नपामा मात्र कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन नभएको हो ।
नेपाल सरकारले अस्पताल नभएका देशै भरका ६४९ स्थानीय तहहरुलाई ५ बेडको अस्पताल तत्काल सञ्चालन गर्न गराउन भनि ९ महिना अगाडि २०७७ भदौ २३ गते पत्रचार गरेको थियो ।
नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संक्रमणले गौरादह पनि उच्च जोखिममा देखिएको छ । आजको दिन सम्ममा गौरादहमा सक्रिय संक्रमितको संख्या ६१ नघिसकेको छ । गौरादह नगरपालिका भने केन्द्र सरकारको अस्पताल सञ्चालन गर्ने निर्देशन समेत अबज्ञा गरेर बसेको छ ।

केन्द्र सरकारले भदौमा नै दश लाख रुपैयाँ र मंशिरमा १० लाख गरेर २० लाख सो अस्पताल संचालन गर्न नगरपालिकाको खातामा बजेट समेत पठाउदा समेत नपाले अस्पताल सञ्चालन गरेको छैन ।
संघीय सरकारको परिपत्र अनुसार कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गर्न गौरादह नगरपालिकाले २०७७ मंसिर २३ गते एकजना मेडिकल अधिकृत पदमा डाक्टर, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको करारमा नियुक्ति गर्नेगरी सातदिने सूचना प्रकाशन गरी दरखास्त लिएको भएता पनि हाल सम्म उक्त पदहरुमा परीक्षा गरिएको छैन ।
लोकसेवा आयोगको नियम अनुसार पनि बिज्ञापन गरेको मितिले ९० दिन भित्रमा परीक्षा गरिसक्नुपर्ने हो तर गौरादह नगरपालिकाले बिज्ञापन गरेर पनि परीक्षा नलिनुको पछाडि के छ रहस्य ? यस सम्बन्धमा नगरप्रमुख रोहित कुमार शाहले भने परीक्षार्थीहरु सम्पर्कमा नआएकाले परीक्षा हुन नसकेको हो । अब जतिसक्दो छिटो परीक्षार्थीहरुलाई सम्पर्क गरेर परीक्षा सञ्चालन गर्ने तयारी रहेको मेयर शाहले बताए । उनका अनुसार कोभिडबाट बच्न बचाउन नगरपालिकाले राम्रो तयारी गरेको छ अक्सिजन सहितको ब्यवस्थित आइसोलेसन तथा पर्याप्त बेड सहितको क्वारेन्टाइन समेत तयारी रहेको छ ।
आइसोलेसन र क्वारेन्टाइनको ब्यवस्थापन गरेको भएता पनि स्वास्थ्य मापदण्ड र प्रोटोकल अनुसार बिरामीलाई औषधि चलाउने तथा उपचार गर्ने मेडिकल अधिकृत डक्टर तथा नर्स सहितका जनशक्तिको हालसम्म पनि नियुक्ति नहुँदा काम गर्न कठिनाइ भएको बताउछन कोभिड–१९ गौरादहका फोकल पर्सन पर्शुराम भट्टराई ।
नगरपालिकाले परीक्षाको मिति तय गरेको र दरखास्त हालेका परीक्षार्थीहरु परीक्षामा सामेल भएनभएको सम्बन्धमा अनलाइन बिचार प्रतिनिधिले कार्यलयमा खोजि गर्दा परीक्षामा सामेलहुने सूचना नै हाल सम्म प्रकाशित नभएको पाइयो ।

शुल्क सहित दरखास्ता पेश गरेका एकजना परीक्षार्थीले नाम नखुलाउने सर्तमा भने परीक्षा गर्नुपर्यो नत्र हाम्रो दरखास्त बापत लिएको शुल्क फिर्ता गर्नु पर्यो । नगरपालिकाको कार्यलयबाट हामीलाई अहिले सम्म परीक्षामा सामेल हुन कुनै सूचना जारी भएकै छैन उनले थपे ।
स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन सम्बन्धी मार्गदर्शन २०७७ को दफा २ मा स्थानीय तहले करारमा लिनुपर्ने कर्मचारी संक्षिप्त बिधिबाट तत्काल ब्यवस्था गर्नुपर्ने छ भनिएको भएता पनि गौरादह नगरपालिकाले उक्त निर्देशन बिपरित कर्मचारी नियुक्तिमा लापरबाही गरेको देखिएको छ ।
गौरादह नगरपालिकाको ढिलासुस्तीले गर्दा गत बर्ष पनि १५ बेडको आधारभूत नगर अस्पताल निर्माणमा आएको १८ करोड बजेट ल्याप्स भएको थियो । त्यसैगरी गत बर्ष नै अनमीको पदमा पनि बिज्ञापन गरेर गौरादह नगरपालिकाले परीक्षा गराएको थिएन ।






