Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा,२२ वैशाख २०७८ । नेपालमा दोस्रो लहरको कोरोना भाइरस देखिएसँगै प्रत्येक दिन संक्रमितको संख्यामा वृद्धि गएको छ । यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पनि थप वृद्धि हुँदै गएको पाइएको हो । आज एकैदिन थप ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ८ हजार ६ सय ५ र एन्टिजेन परिक्षणबाट ५४ जनामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार ७ सय ५६ जना र एन्टिजेन परिक्षणबाट ६ सय १६ जना गरि कुल २१ हजार ३ सय ७२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २५ लाख ५८ हजार ५१ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ८६ हजार ७ सय ६६ जनाको र निजी बाट ९ लाख ७१ हजार २ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ३ सय ८१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ६६ हजार ३ सय ५२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ६१ हजार ५ सय ८८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार ७ सय ६४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय जना आइसियुमा र १ सय ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेप्लान्चोक, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज सम्मकै उच्च ५८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments