Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा,२१ वैशाख २०७८ । नेपालमा आज एकैदिन थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ७ हजार ५ सय ८७ र एन्टिजेन परिक्षणबाट ७३ जनामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १ सय ३१ जना र एन्टिजेन परिक्षणबाट ५ सय ७१ जना गरि कुल १६ हजार ७ सय २ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २५ लाख ३७ हजार २ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ७६ हजार ५ सय ६१ जनाको र निजी बाट ९ लाख ६० हजार ७ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म २ सइ ५३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ५९ हजार ७ सय ९८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ५५ हजार ५ सय २० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार २ सय ७८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय १६ जना आइसियुमा र १ सय ७९ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेप्लान्चोक, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज सम्मकै उच्च ५५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments