झापा,१७ वैशाख २०७८ । देशभर आज एकैदिन थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ५ हजार ६ सय ५७ र एन्टिजेन परिक्षणबाट ७० जनामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ९ सय २८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ३ सय ९१ जना र एन्टिजेन परिक्षणबाट ५ सय २५ जना गरि कुल १५ हजार ९ सय १६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख ७३ हजार ९ सय ५६ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ५३ हजार ८७ जनाको र निजी बाट ९ लाख २० हजार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ३८ हजार ८ सय १३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ३६ हजार १ सय ३५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ३१ जना आइसियुमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । यस्तैगरि २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, सुनसरी, बारा, धनुषा, मकवानपुर, काभ्रेप्लान्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कंचनपुर रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ३३ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






