झापा, १२ वैशाख २०७८ । देशभर प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनामा संक्रमण पुष्टी भएसँगै कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख ५ हजार १७ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख २३ हजार ६ सय ५३ जनाको र निजी बाट ८ लाख ८१ हजार ३ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ६९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १९ हजार ३ सय ८२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १७ हजार ७ सय ८८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले २ सय ५२ जना आइसियुमा र ६५ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या २८ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५० र निजी ३६ गरि ८६ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






