Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाण्डौं, १० कात्तिक । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई परिवर्तित सम्बन्धमा थप प्रगाढ र गतिशील तुल्याउने बारेमा छलफल गरेका छन्।

चीनका वरिष्ठ राजनीतिक तथा सुरक्षा निकायका नेतृत्वसँग भेटवार्ता गरी मन्त्री पोखरेलले छलफल गरेका हुन्। शुक्रबार चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्गसँग र शनिबार बिहान चीनका रक्षा मन्त्री वेइ फेङ्सँउपप्रधानमन्त्रि पोखरेलले भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल र चीन सरकारका रक्षामन्त्रीबीच नेपाललाई १५ करोड युयान (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

चिनियाँ सरकारको तर्फबाट एक सैनिक टुकडीले उपप्रधानमन्त्री पोखरेलको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको मुख्यालयमा सम्मान गारत अर्पण गरेको थियो। सो अवसरमा नेपाल र चीन दुवै देशका राष्ट्रिय धुनसमेत बजाइएको थियो।

कार्यालयमा स्वागत गर्दै चीनका रक्षामन्त्रीले नेपाल र चीन असल छिमेकी मुलुक हुनुका साथै दुई देशबीच शदियौंदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहिआएको चर्चा गर्दै बेइजिङमा आयोजित आठौँ सियाङसान फोरममा उपप्रधानमन्त्री पोखरेलले सियाङसान फोरममा दिएको मन्तव्यका लागि बधाईसमेत ज्ञापन गरे।

समान संस्कृति र सभ्यता बोकेका नेपाल र चीनबीच परापूर्व कालदेखि घनिष्ट सम्बन्ध रही आएकोमा हालका दिनमा उच्च राजनीतिक भ्रमणले दुई देशबीच विश्वास र सद्भावना अभिवृद्धि गर्न तथा आपसी सहयोगका क्षेत्रलाई थप फराकिलो बनाउन सहयोग पुर्‍याएको विचार व्यक्त गरे। चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्गले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न चीनको तर्फबाट सदैव सहयोग रहने कुरा व्यक्त गरे।

चीनले अन्तर्रा्ष्ट्रिय शान्ती, सुरक्षा र अतिकम विकसित मुलुकको विकासको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको कुरा उनले भेटवार्ताका क्रममा चिनीयाँ पक्षहरूसँग राखेका थिए। भेटवार्ताका क्रममा उनले नेपाल चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व¸पारस्परिक सम्मान र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्दे्शित भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले नेपालले चीनसितको सम्बन्धलाई उच्च महत्वका साथ अघि बढाउन चाहेको कुरा व्यक्त गरे।

नेपाल एक चीन नीतिको पक्षमा सदैव प्रतिबद्ध रहेको र चीनको सुरक्षा सरोकारका विषयलाई संवेदनशीलताका साथ ग्रहण गर्दै नेपाल(चीन सीमानामा चीनविरोधी कुनै पनि घटना हुन नदिने दृढता उनले बताए। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ र सन् २०१८ मा चीन भ्रमण गरेको कुरा संस्मरण गर्दै चीनसँग भएको पारवहन यातायात सम्झौता तथा नेपाल चीनबीच रेल मार्गको विकास गर्ने समझदारीले नेपाल र चीनबीच आगामी दिनमा सम्पर्क विस्तार गर्न तथा व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ तुल्याउन ठुलो सहयोग पुग्ने विश्वास पोखरेलले व्यक्त गरे। यसबाट भूपरिवेष्टित मुलुक नेपाललाई भू-जडित मुलुकमा रूपान्तरण हुन सहयोग पुग्ने विचार पनि उनले व्यक्त गरे।

नेपालमा सन् २०१५ को अप्रिल महिनामा आएको महाभूकम्पपश्चात् भूकम्पपीडितहरूको उद्धार तथा पुनःस्थापना गर्न, भूकम्पबाट क्षतिग्रस्त ऐतहासिक सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार गर्न चीन सरकाले उपलब्ध गराएको अमूल्य सहायताको लागि उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे। प्रत्युत्तरमा चिनियाँ रक्षामन्त्री फेङ्गले नेपाललाई भूकम्प पश्चात् उद्धार तथा पुनर्निर्माणका लागि उपलब्ध गराएको विदेश सहयोग हालसम्मकै सबैभन्दा ठूलो सहयोग रहेको जानकारी गराएका थिए। भेटवार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै नेपाली सेनालाई विभिन्न तालिम तथा कोर्षमा सहभागी हुने अवसर प्रदान गरी तथा महत्वपूर्ण सैनिक उपकरणहरू प्रदान गरी नेपाली सेनाको क्षमता विकासमा चीन सरकारले पुर्‍याउँदै आएको योगदानको सह्राहना गरेका थिए।

भेटवार्ताको क्रममा नेपालमा सञ्चालन हुने विभिन्न सैनिक अभ्यास तथा तालिममा चिनियाँ सैनिक अधिकारीलाई तथा चीनमा सञ्चालन हुने विभिन्न तालिमरकोर्षमा नेपाली सैनिक अधिकृतलाई सहभागी गराएर दुवै मुलुकका सेनाले एक अर्काको अनुभवबाट सिक्ने र सिकाउने सुमधुर वातावरण निर्माण गरेको कुरा उनले स्मरण गरे। नेपाली सेनालाई विपद् व्यवस्थापन तथा शान्ति सेना लगायतका विभिन्न मिशनमा खटिन आवश्यक सैन्य सामग्रीहरू उपलब्ध गराउन चीन सरकारले गर्दै आएको सहयोगका लागि नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गर्दै सैन्य उपकरणमा आत्मनिर्भर संस्थाको रूपमा विकास गर्ने नेपाल सरकारको योजनामा मित्र राष्ट्र चीनबाट सहयोगको अपेक्षा गरेको कुरा बताएका थिए।

नेपालले चीनबाट खासगरी विभिन्न प्रकारका सैन्य सामग्री¸उद्धार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न उपकरणहरू¸सैनिक अस्पतालको लागि आवश्यक चिकित्सा उपकरणहरू¸ क्षमता विकास सम्बन्धी तालिम¸ राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना लगायतका विषयमा सहयोगको अपेक्षा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सम्पर्कलाई सुदृढ बनाउन विगतमा भएका समझदारी अनुसार दुई देशका प्रमुख व्यापारिक नाकाहरूलाई जोड्ने गरी यथाशीघ्र रेलमार्गको निर्माण गर्न आवश्यक भएको बताएका थिए। यो विषयलाई आगामी दिनमा प्राथमिकतामा राखी कार्यान्वयन गरिदिन चीन सरकारलाई विशेष अनुरोध उनले गरेका थिए।

प्रत्युत्तरमा चीनका केन्द्रीय सैनिक आयोग महामहिम सु छियालिङ्ग तथा रक्षामन्त्री जनरल वेइ फेङ्ले नेपालको आर्थिक सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन चीन सरकार सदैव सकारात्मक रहेको र आगामी दिनमा रेल मार्ग लगायतका पूर्वाधारहरू निर्माण गर्न चीनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुने विश्वास दिलाएका थिए। शिष्टाचार भेटघाटको अवसरमा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याललगायत भ्रमणदलका सदस्यहरूको उपस्थिति थियो।

यसैबीच बेइजिङस्थित नेपाली राजदूतावासले उपप्रधानमन्त्रीको सम्मानमा तथा दशैँ¸तिहार¸छठ लगायतका नेपालका महत्वपूर्ण सामाजिक¸सांस्कृतिक पर्वको उपलक्ष्यमा नेपाली समुदायबीच भेटघाट तथा शुभकामना आदान(प्रदान कार्यक्रममा उनले सम्बोधन गरेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया