झापा,११ वैशाख २०७८ । देशभर वैशाख लागे यता प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय १९ जनामा संक्रमण पुष्टी भएसँगै कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५ सय २५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख ९५ हजार ७ सय २५ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख २० हजार ५ सय ९७ जनाको र निजी बाट ८ लाख ७५ हजार १ सय २८ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ७१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १६ हजार ८ सय २८ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १५ हजार ५ सय १२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ३ सय जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले २ सय १३ जना आइसियुमा र ६९ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या १४ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५० र निजी ३६ गरि ८६ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






