झापा,६ वैशाख २०७८ । देशभर प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्था रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ८१ जनामा संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्यामा वृद्धि हुँदै गएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५ सय ४८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख ५२ हजार ५ सय २ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख २ हजार ८ सय ७० जनाको र निजी बाट ८ लाख ४९ हजार ६ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ७ हजार २ सय ५४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ६ हजार ६ सय ६७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ सय ८७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ सय ४८ जना आइसियुमा र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ८ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५० र निजी ३६ गरि ८६ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






