झापा,५ वैशाख २०७८ । देशभर प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बालबालिकामा पनि संक्रमणको जोखिमा बढ्दै गएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिंजो(शनिबार)सम्मको तथ्यांक अनुसार ५ वर्ष मुनिका ३ हजार ५ सय ६५ बालबालिकामा कोरोना संक्रमण भइसकेको जनाएको छ । यस्तै हालसम्म ५ वर्ष मुनिका ५१ जना बालबालिका सक्रिय संक्रमित रहेका छन् भने, कोरोना संक्रमण कै कारण ५ वर्ष मुनिका १० जना बालबालिकाले ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै, आज एकैदिन थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ६२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७ सय ८३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख ४५ हजार ५ सय १ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ८० जनाको र निजी बाट ८ लाख ४५ हजार ४ सय २१ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ६ हजार २ सय ९० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ५ हजार ७ सय १४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ५ सय ७६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ सय १६ जना आइसियुमा र ४६ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ८ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ४९ र निजी ३६ गरि ८५ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






