शान्ति सुब्बा
गौरादह, ५ वैशाख २०७८ । झापाको गौरादह नगरपालिकामा भोलि र पर्सि दुई दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि औषधि खुवाइन लागिएको छ । सरकारले देशभर ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम अन्तरगत गौरादहमा भोलि र पर्सि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको हो ।
नगरपालिका भित्रका ६ महिनादेखि ५ वर्ष सम्मका ५ हजार ५ सय ५२ बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागिएको गौरादह नगर स्वास्थ्य शाखा सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार र मंगलबार दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. १ मा ७ सय २१ जना, वार्ड नं. २ मा ३ सय १३, वार्ड नं. ३ मा ३ सय ९४, वार्ड नं. ४ मा ७ सय १४, वार्ड नं. ५ मा ७ सय ६६, वार्ड नं. ६ मा ७ सय ८२, वार्ड नं. ७ मा ६ सय ३५, वार्ड नं. ८ मा ५ सय ८५ र वार्ड नं. ९ मा ६ सय ४२ जना गरि ५ हजार ५ सय ५२ जना बालबालिकाहरु रहेको जनाएको छ । यस कार्यक्रमको लागि सबै स्वास्थ्य चौकीहरुमा औषधि पठाई सकेको सहसंयोजक श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने छ भने, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने श्रेष्ठले बताउनुभयो । भिटामिन ‘ए’ र जुकाको औषधी निशुल्क खुवाइन लागिएको बताइएको छ ।
नगरपालिका भित्रका बालबालिकाहरुलाई ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनको लागि ५० जना महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने जनाइएको छ ।
भिटामिन ‘ए’ ले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउनुका साथै ३० प्रतिशत बालमृत्युदर कम गराउँछ । यसको सेवनले बालबालिकालाई कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन पनि भिटामिन ‘ए’ को निकै ठूलो भूमिका हुन्छ । यस्तै, यसले दादुरा तथा झाडापखाला जस्ता रोगहरु लाग्नबाट बचाउने हुनाले ६ महिना पुरा भएको बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनु पर्दछ ।
यस्तै, भिटामिन ‘ए’ को कमीले छाला सुख्खा हुने, आँखा सुख्खा हुने, रतन्धो(राति दृष्टि कमजोर हुने), शारीरिक विकासमा ढिलाइ हुने, घाँटि र छातिमा इन्फेक्सन हुने, घाउ ढिलो निको हुने र रोग प्रतिरोधात्मक शक्ति घटाउँदछ ।
यस्तै, बालबालिकालाई खुवाइने जुकाको औषधीले भने, बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्ने काम गर्दछ । जुकाले बालबालिकाको पेटमा बसेर रगत चुस्ने हुँदा बालबालिकाको शरीरमा रगतको कमी हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागेको हो ।
सबै वडाहरुमा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिएको हुँदा आफ्नो बालबालिकालाई नजिकैको महिला स्वास्थ्य सवयं सेविका सँग सम्पर्क गरि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनु हुन गौरादह नगर स्वास्थ्य शाखाले सुचना जारी गरेको छ । औषधी बिहान १०ः३० देखि ४ बजे सम्म खुवाइने जनाइएको छ ।
यस्तै, कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गइरहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारले हरेक वर्ष वैशाख र कार्तिकमा गरि दुई चरणमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।






