शान्ति सुब्बा
गौरादह, ४ वैशाख २०७८ । गौरादहमा आज १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह-५ निवासी ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी भएका पुरुष स्थानीयबासी रहेका छन् । मेची अस्पतालमा पीसीआर परीक्षण गर्दा ति पुरुषमा संक्रमण पुष्टी भएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।
गौरादहमा ३ महिना पछी पहिलो पटक चैत २७ गते गौरादह-७ दुधालीका ४१ वर्षिय एक पुरुषमा संक्रमण देखिएको थियो । ति संक्रमित व्यक्ति पनि स्थानीयबासी नै रहेका छन् । आज आठौं दिनमा दोस्रो व्यक्तिमा संक्रमण देखिएको छ । यसले खतराको संकेत देखाइरहेको छ तर अहिले गौरादह नगरपालिका भित्रका स्थानीयबासी प्राय धेरैले नै माक्स लगाउन र सेनीटाइजर प्रयोग गर्न छोडिसकेका छन् । झन् सामाजिक दुरी कायम गर्न त छोडिसकेका छन् । यसबाट अझ खतरा बढ्दै गइरहेको छ ।
मंसिर सम्मको रेकर्ड अनुसार गौरादहमा २ सय ८४ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको गौरादह नगर स्वास्थ्य शाखा सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभएको छ । नयाँ २ जना संक्रमित थपिएसँगै गौरादहमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ८६ पुगेको छ । यस्तै, हालसम्म २ सय ७० जना डिस्चार्ज भएका छन् भने, हालसम्म कोरोनाका कारण १४ जनाको ज्यान गइसकेको छ । अहिले २ जना नयाँ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको सह–संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।






