Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झगेन्द्र खड्का
गौरादह, ४ वैशाख २०७८ । गौरादह नगरपालिका वडा नं.२ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएकोछ । २०७४ सालमा शिलान्यास गरिएको आधारभूत स्वास्थ्य केन्द्र भवनको निर्माणकार्य सम्पन्न भई शनिबार उद्घाटन गरिएको हो ।

गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले भवनको उद्घाटन गर्दै नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए। सरकारी तवरबाट लगानी गरि स्वास्थ्य सेवा दिन भवन, औषधि, र स्वास्थ्य कर्मीको टोली उपलब्ध भएकाले नगरवासीहरुलाई स्वास्थ्य केन्द्रमा आई सेवा लिन अनुरोध गरेका छन। गौरादह-२ को हाँसखोरामा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्र भवनमा आईतवार देखि स्वास्थ्य सेवा दिइने जनाइएको छ।

आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि शहरी बिकाशबाट २५ लाख, नगरपालिकाबाट १० लाख र नगर स्वास्थ्य शाखाबाट ४ लाख सहित कुल ३१ लाखको लगानीमा ४ कोठाको भवन निर्माण गरिएकोहो।आधारभूत स्वास्थ्य केन्द्रमा ३ जना स्वास्थ्य कर्मीको टोलीले सेवा दिने बताइएको छ। वडा नं.२ को आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक २५ देखि ३० जना सम्म बिरामीहरु सेवालिन आउने गरेको स्वास्थ्य कर्मी ईन्दिरा भट्टराईले जानकारी गराइन।

भवन उद्घाटनको अवसरमा भवन निर्माणकालागि जग्गा दान गर्ने जग्गा दाताहरुलाइ सम्मान गरिएको थियो । जग्गा दाता स्थानीय भोला पोख्रेल,धनमाया अधिकारी र रामचन्द्र खड्कालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

सोही अवसरमा आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य प्रमुख टिकाराज बर्देवाको सरुवा भएकाले बिदाई समेत गरिएको थियो। गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख गिता भेट्वाल, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, एमालेका गोबिन्द बहादुर खड्का,नेपाली कांग्रेसका बिजय कन्दङ्वा, माओवादी केन्द्रका राजन खनाल, सल्लाहकार सदस्य शुरेश बहादुर पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। गोपाल प्रसाद कोईरालाले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments