काठमाडौं, २ बैशाख । कोरोना भाइरस नियन्त्रणमा कडाइका साथ कदम चाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरीह देखिएको छ । संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि १४ जिल्लामा विद्यालय बन्द गर्न सिफारिस गरेको मन्त्रालयले आफू अनुकूल निर्णय मन्त्रिपरिषदबाट गराउन नसक्दा ‘अपील’ मात्र जारी गर्नमा आफूलाई सीमित गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकासहित १४ जिल्लामा कोरोनाको अति जोखिम बढेको बताएको छ । तर, स्वास्थ्य मन्त्रालयले ठोस निर्णय गर्न नसकेपछि अपील मात्रै जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई घोषणा गरेको छ ।
अति प्रभावित भनिएका १४ जिल्लामा शैक्षिक संस्था र भिडभाड हुने क्षेत्र ‘बन्द गर्नुपर्ने भएपनि’ हाललाई ती क्षेत्रमा सहभागी नहुन र स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले अपील गरेको छ ।
मन्त्रालयले बालबालिकालाई विद्यालय नजान अपील गरिरहँदा विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालय भने मौन छ । जसले गर्दा अभिभावकहरु आफ्ना वालवालिकालाई विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमा परेका छन् ।
किन विद्यालय बन्द गर्न चाहन्छ स्वास्थ्य मन्त्रालय ?
नेपालमा यतिबेला कोरोना भाइरसको नयाँ स्वरुप ‘युके भेरिएन्ट’ सक्रिय रहेको पाइएको छ । यसअघि कोरोना भाइरसको संक्रमणबाट तुलनात्मक ‘सुरक्षित’ मानिएका युवा तथा बालबालिकामा समेत यो भेरिएन्ट निकै तीव्र गतिमा फैलिरहेको मन्त्रालयको भनाइ छ ।
यसको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट गरिनुपर्ने भन्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव गरेको थियो । तर, मन्त्रालयको प्रस्तावले क्याबिनेटबाट स्वीकृति पाएन ।
पोखरा, काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रका धेरै युवा र बालबालिकामा नयाँ भेरिएन्ट संक्रमण फैलिएकाले डरलाग्दो स्थिति सिर्जना भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले रातोपाटीलाई बताए । कान्ति बाल अस्पतालमा यूके भेरिएन्ट कोरोना संक्रमणकै कारण दुईजना बालबालिकाको मृत्यु भएको समेत उनले बताए ।
‘शैक्षिक संस्था र भिडभाड हुने ठाउँ बन्द गर्ने निर्देशन दिने हाम्रो क्षेत्राधिकार पर्दैन,’ ती अधिकारीले भने, ‘तर, सँगसँगै महामारीको जोखिम बढेकाले मन्त्रालयले प्रभावित जिल्लाका शैक्षिक संस्था र भिडभाड हुने क्षेत्रमा चहल पहल रोक्न आह्वान गरेका हौँ ।’
मन्त्रालयले अति प्रभावित १४ जिल्लाका शैक्षिक संस्थासहित बढी भीडभाड हुने क्षेत्रमा विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल बन्द गर्न आग्रह गरेको छ ।
नयाँ भेरिएन्टका संक्रमित ह्वात्तै बढेपछि संक्रमणको ‘चेन ब्रेक’ हुने आशामा शैक्षिक संस्था मात्रै नभएर चहल–पहल हुने क्षेत्र बन्द गर्न आग्रह गरिएको मन्त्रालयका ती अधिकारी बताउँछन् ।
स्वास्थ्य मन्त्रालय असन्तुष्ट
सरकारको पछिल्लो निर्णयबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरु रुष्ट देखिएका छन् । मुख्य शहरी क्षेत्रमा अनलाइन माध्यमबाट पठन–पाठन सञ्चालन गर्न पटक–पटक मन्त्रिपरिषद् बैठकमा प्रस्ताव राख्दा केही व्यक्तिहरुको निहीत स्वार्थ पूरा गर्न खतरालाई बेवास्ता गरिएको उनीहरुको आरोप छ । निजी क्षेत्रका विद्यालय सञ्चालकहरुको दबावमा क्याबिनेटले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको उनीहरुको आरोप छ ।
‘संविधानमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहेको’ भन्दै निजी शैक्षिक संस्थाको दबावमा केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भन्दै सम्बन्धित निकाय पन्छिएको उनले बताए ।
उता नेपालगञ्ज उपमहानगरपालिकाले भने स्थानीय तहलाई दिइएको माध्यमिक तहसम्मको शिक्षाको अधिकारलाई प्रयोग गर्दै आगामी आइतबारदेखि उपमहानगरपालिकाभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रीले दिएका थिए चेतावनी
दुईदिनअघि मात्रै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले युवा र कम उमेर समूहका बालबालिकामा यूके भेरिएन्ट कोरोना संक्रमण फैलिएको भन्दै डरलाग्दो स्थिति सृजना हुन सक्ने बताएका थिए । १८ वर्षभन्दा कम समूहका बालबालिकाका लागि कुनै पनि खोप विकास नभएकाले पनि अब अवस्था जटिल बन्ने सक्ने मन्त्री त्रिपाठीको भनाइ थियो ।
शहरी क्षेत्रका विद्यालयहरुमा एक महिना अनलाइनमार्फत पठन–पाठन गराएर संक्रमण फैलिनबाट जोगाउन सकिने उनले बताएका थिए ।
‘अनलाइन माध्यमबाट कक्षा लिएर दश÷दश दिनमा ‘चेन ब्रेक’ गर्न सकियो भने पनि बचाउन सकिन्छ,’ मन्त्री त्रिपाठीको भनाइ छ, ‘उपत्यकामा मात्रै ७/८ लाख विद्यार्थी घरै बसे भने पनि २० प्रतिशत आवत–जावत कम हुन्छ ।’
युके भेरिएन्ट ७० प्रतिशत भन्दा बढी संक्रामक र घातक भएको विज्ञहरुले बताउँदै आएका छन् । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट सक्रिय हुँदा स्थिति भयावह बनिरहेको छ । रातोपाटीबाट






