झापा, २७ चैत २०७७ । झापामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा १ जना महिला र ३ पुरुष रहेका छन् । आज संक्रमण पुष्टी हुनेहरुमा गौरादह-७ का १ जना पुरुष, बिर्तामोड-५ का १ महिला र १ पुरुष गरि २ जनामा र भद्रपुर-८ का १ पुरुषमा गरि ४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
संक्रमित ४१ वर्षिय पुरुष गौरादह नगरपालिका-७ दुधालीका रहेका छन् । अन्यत्र काम गर्न जानको लागि मेची अस्पताल कोटीहोम प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टी भएको संक्रमित पुरुषले बताएका छन् । उनि घर गाउँमा नै रहेको बेला कामको सिलसिलामा के कसरी कोरोना लाग्यो थाहा नभएको बताएका छन् । अहिले कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको संक्रमित व्यक्तिले जानकारी दिएका छन् ।
संक्रमित सबै स्थानिय रहेका छन् ।यो सँगै झापामा हालसम्म ४ हजार ६ सय ४२ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, हालसम्म ४ हजार ४ सय ९७ जना डिस्चार्ज भएका छन् । यस्तैगरी, कोरोना संक्रमण भई उपचाररत रही आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या भने, १७ रहेको छ । कोरोनाका कारण हालसम्म १ सय २८ जनाको मृत्यु भएको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । यस्तै, झापामा हालसम्म ३७ हजार १ सय १५ जनाको पीसीआर गरिएको जनाइएको छ ।






