Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

जनकपुरधाम, १० कात्तिक । प्रदेश २ सरकारले संघीय प्रहरी ऐनको लागि एक महिना केन्द्र सरकारको बाटो कुर्ने भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारसँग प्रदेश सरकार समन्वय र सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि एक महिना पर्खिने शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बताए ।

प्रदेश २ को सरकारले संघीय प्रहरी ऐन आउनुअघि नै प्रदेश प्रहरी ऐन ल्याएको थियो । सो ऐनप्रति असन्तुष्टि जनाउँदै नेकपा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री सहभागी भएको कार्यक्रममै संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना हुने चेतावनी दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेशलाई आवश्यक सबै कर्मचारी १ महिना भित्रै पठाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णय समेत मन्त्रिपरिषदको बैठकले गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकिएकाले आफैं कर्मचारी भर्ना गर्न समस्या नरहेको बताए ।

यस्तै २ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिई प्रदेश सभामा छलफलका लागि पेस गर्ने निर्णय पनि भएको मन्त्री यादवले जानकारी गराए । विधेयकबारे छलफलका लागि आउदो कात्तिक १३ गते प्रदेश सभाको वैठक बोलाइएको छ ।

तपाईको प्रतिक्रिया