झगेन्द्र खड्का
गौरीगंज, २० चैत २०७७ । भारत सँग सिमाना जोडिएको गौरीगंज गाउँपालिकाको फत्तेहपुर नाकामा पुनः हेल्थ डेस्क स्थापना गरिएको छ। कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्न हेल्थ डेक्स स्थापना गरिएको हो । पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेसँगै नेपालमा पनि भाइरसको संक्रमण देखिन थालेपछि बुधबारदेखि नाकामा हेल्थ डेस्क स्थापना गरिएको गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी गराए।
गत बर्ष चैतदेखि भाइरस संक्रमणको जोखिम बढ्दा बोर्डर सिल गरि हेल्थ डेक्स राखिएको थियो । भाइरस संक्रमणको जोखिम घटेपछि बोर्डर खुल्ला गरि हेल्थ डेक्स हटाइएको थियो। सिमा नाकामा निगरानी गर्न सरकारले निर्देशन दिएसंगै गौरीगंज गाउँपालिकाको १३ गतेको सिसिएमसी वैठकले नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो। सीमामा आवतजावत गर्ने व्यक्तिहरुको रेकर्ड राख्नुका साथै ज्वरो मापन गरि उनीहरूको निगरानी गर्ने प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीका प्रमुख अनुप सेढाईले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्न निर्देशन दिएको छ। भारतीय सीमा क्षेत्रमा कोरोना पोजेटिभ भएका व्यक्तिहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापन गर्न निर्देशन दिएको थियो।
कोरोना भाइरसको दोश्रो लहर देखिन थाले पछि गौरीगञ्जको फत्तेपुर नाकामा स्थापना गरिएको हेल्थ डेक्सले बुधबार देखि सीमा बर्ती क्षेत्रमा आवतजावत गर्नेहरुलाई ज्वरो मापन गरि रेकर्ड राख्न थालिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख सेढाईले बताएका छन्।सिमामा स्थापना गरिएको हेल्थ डेस्कमा दैनिक एक जना स्वास्थ्य कर्मी सहित नाकामा सुरक्षा कर्मीहरुको निगरानी रहको गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराएका छन।






