गौरादह, ८ चैत २०७७ । झापाको गौरादहमा गौरादह विराटनगर सम्पर्क समाज केन्द्रको आयोजनामा नागरिक अभिनन्दन तथा एक दिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनता मा.वि को प्राङगणमा सञ्चालन भएको शिविरमा गौरादह नगरपालिकाका साथै आसपासका पालिकाहरुबाट नागरिकहरुले स्वास्थ्य सेवा लिएका थिए ।
नोबेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रशुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक तथा नसा रोग, हाड जोर्नि तथा नसा, छाला तथा यौन रोग, नाक, कान घाँटी रोग, आँखा परिक्षण, दन्त सेवा, न्यूरो सर्जरी साथै भिडियो एक्सरे, ईसिजी र ल्याब सम्बन्धि सेवा दिइएको थियो । शिविरमा यस क्षेत्रका ९ सय ३५ जनाले सेवा लिएका थिए । शिविरमा हाड जोर्नी तथा नसा रोग, आँखा र स्त्री रोगका बिरामीहरु सबैभन्दा बढी थिए । सबैभन्दा कम बालरोगका बिरामीहरु थिए । मानसिक रोगमा कोही पनि बिरामी उपचारका लागि नआएको आयोजकले जनाएको छ ।
प्रदेश नं.१ का प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सोमनाथ प्यासी अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै मानिसले जिवनमा समाजसेवाको काम गरेमा मानिस मरेर गएपनि अमर रहने बताए । गौरादह क्षेत्रमा विकास निर्माणको काम र जनताको सेवा गर्ने स्वर्गीय डिठ्ठा नरबहादुर बस्नेत र देवी प्रसाद काफ्लेले समाजमा पुर्याएका योगदानका कारण आज सम्म पनि वहाँहरु अमर रहेको धारणा राखेका थिए ।
प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले अबको भावी पिढी सन्ततीले स्व। डि। नरबहादुर बस्नेत र देवी प्रसाद काफ्लेले देखाएको बाटो अंगिकार गर्नुपर्ने धारणा राखेका थिए । त्यस अवसरमा गौरादह विराटनगर सम्पर्क समाज केन्द्रले गौरादह क्षेत्रमा रहेका समाजसेवी तथा तत्कालीन गौरादह गाउँ पन्चायतको स्थापनाकालदेखि प्रधानपन्च भएर २० बर्ष सेवा गरेबापत स्व.डि.नर बहादुर बस्नेत र तत्कालीन महारानी झोडा गाबिस कालदेखि अन्त्य सम्म २० बर्ष सम्म सेवा गरेबापत र देवि प्रसाद काफ्लेलाई मरणोपरान्त नागरिक अभिनन्दन गरिएको थियो ।
त्यस अवसरमा यस क्षेत्रमा रहेका ३० वटा संस्था, आजिवन सदस्यता लिएका नयाँ सदस्य तथा एस.एस्करलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।


गौरादह विराटनगर सम्पर्क समाज केन्द्रका अध्यक्ष इन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की, गौरादह नगरपालिका नगर प्रमुख रोहित कुमार शाह, वडा नं। १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, समाजसेवी अमर बहादुर बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक दिलिप भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका सचिव डिल्ली निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।










