Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

शान्ति सुब्बा
गौरादह,८ चैत २०७७ । देश व्यापी रुपमा एकैसाथ चैत २० गतेबाट हात्तीपाइले रोग विरुद्ध आम औषधी सेवन अभियान–२०७७ कार्यक्रम अन्तर्गत सरकारले झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली गरी १२ जिल्लाका १ सय २९ स्थानीय तह अन्तर्गतका ७४ लाख ६१ हजार व्यक्तिलाई औषधी खुवाउन लागेको छ ।

यस्तै, झापा जिल्ला भरि ८ लाख २ हजार ६ सय जना व्यक्तिलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइन लागिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो । यस अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्ला भरि ९ सय स्वास्थ्यकर्मी र ६ सय स्वंयसेविका परिचालन गर्न लागिएको फोकल पर्सन चौंलागाईले बताउनुभयो ।

यस्तै, गौरादह नगरपालिका भित्रका ९ वटै वडाभित्रका ५० हजार व्यक्तिहरुलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागेको गौरादह नगर स्वास्थ्य शाखा सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । नवौं चरणसम्म आम औषधी सेवन कार्यक्रम सम्पन्न भइसकेको बताउँदै यो १० औं चरणको कार्यक्रम रहेको बताउनुभयो । औषधी सेवन गराउन ५५ जना स्वास्थ्यकर्मी र ५० जना महिला स्वंय सेविका परिचालन गरिन लागिएको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै,गौरादह नगरपालिका भित्र ३०–४० जना व्यक्तिमा हात्तीपाइले रोेग देखा परेको श्रेष्ठले बताउनुभएको छ । स्वास्थ्यकर्मीहरुले तोकिएका केन्द्रहरुमा गई औषधी खुवाउने कार्यक्रम तय भएको जनाइएको छ ।

गौरादह नगरपालिका नगर स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा आज(आईतबार) गौरादह नगरपालिकाकोे सभाहलमा आयोजित हात्तिपाइले रोग विरुद्ध आम औषधी सेवन कार्यक्रम–२०७७ अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा सो कुराको जानकारी गराईएको हो ।

झापामा हात्तीपाइले रोगका बिरामी बढ्दै गएको बताउँदै हाल हाइड्रोसिल भएका ३ सय ७२ जना, हात र स्तन सुन्निएका १ सय १० जना र खुट्टा सुन्निएका ७२ जना गरि ५ सय ५४ जनामा हात्तीपाइले रोग देखिएको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा गौरादह नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराई र सह-संयोजक गोविन्द श्रेष्ठले हात्तीपाइले रोग भनेको के हो? संक्रमण, लक्षण र यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराएका थिए ।

यस्तैगरि हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा खाली पेटमा खान नहुने, छारे रोगी, ७ दिन सम्मका सुत्केरी, गर्भवती महिला, २ वर्ष मुनिका बालबालिका, सिकिस्त बिरामीहरु(कुनै कडा रोग लागी औषधी सेवन गरिरहेका- क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, २४ घण्टा भित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्षका मुनिका बालबालिकाहरुलाई यो औषधी खुवाउन नहुने स्वास्थ्य सह-संयोजक श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

यो औषधी सेवन गर्दा सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने भएतापनि यसले कुनै नकारात्मक असर नपार्ने भएकाले ढुक्कको साथ औषधी सेवन गर्न आग्रह गर्नुभयो । यदि यस्ता प्रकारका लक्षण देखिएमा औषधीले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्ने साथै ती लक्षणहरु केहि घण्टाभित्रमा आफैं हराएर जाने बताईएको छ । केही गरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्ने बताईएको छ । समुदायमा हात्तीपाइले रोग जन स्वास्थ्यमा समस्याको रुपमा रहन नदिन साथै अपांगता रोकथाम गर्ने प्रमुख उद्देश्यले यो औषधी खुवाइन लागिएको स्वास्थ्य सह-संयोजक श्रेष्ठले बताउनुभयो ।

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविको सङ्क्रमण बाट लाग्ने गर्दछ । क्युलेक्स वा एनोफिलिसको पोथीे लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट सर्ने यो रोग शरीरको कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिंदै जाने गर्दछ । नेपालमा सन् २००३ देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउन सुरु गरिएको थियो ।

यो रोग लागेपछि पुरुषका अण्डकोष सुन्निने, महिलाको यौनाङ्ग वा स्तन सुनिने, खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, पिसाबमा लिम्फ मिसिनाले रोगीहरुको पिसाब दुध जस्तै हुने, हातगोडामा नीला धर्साहरु देखिन्छन् र हिंडडुल गर्न नसकिने लगायतका समस्या आउनुका साथै हात्तीपाइले जस्ता रोगले मानिसलाई अपाङ्गएवं शारिरिक रुपमा कमजोर गर्ने भएकाले सबैलाई औषधी सेवन गर्न आग्रह गरिएको छ । यो औषधी चैत २० देखि ३० गते सम्म खुवाइने भएकोले आ–आफ्नो वडामा तोकिएको केन्द्रमा गई औषधी सेवन गर्न भनिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments