Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
कमरेड ! लालसलाम
क्रान्तिकारी हातहरुले शिलान्यास गरेको
निर्मल त्यो स्वर्णिम इतिहास
भर्भराउदो रापिलो भरोसाको वर्तमान
आज अनायासै किन मुर्छित छ ?
वर्गमुक्तिका खातिर बलिदानको
कोटा चुक्ता गर्न तत्पर
त्यो लाल योद्धालाई आज
कुन वादले वर्ग दुश्मनसंग
सौदाबाजी गराई
गौरवपूर्ण रक्तरंजित इतिहासको
शीर छेदन गराइदैछ किन ?
कमरेड !
दश बर्षको अथक रक्तिम
लालिमय ओजपूर्ण जगमा
आसाको उज्यालो बनेर उभिएको
नेपाली हाम्रो बिउझिएको समय
फक्रदैगरेको हाम्रो खुसी
आज किन मुठ्ठीभरको उन्मादले
कुल्चिएर अपमानित छ ?
कमरेडको अप्राकृतिक जुठोपुरोको
मलजलमा हुर्किएको नवकमरेड
शहिदको रगतको मोलतोल गर्दैछ
किन कमरेड ?
कमरेडको भजन र आरतीवाद
माक्र्सवाद भन्दा प्यारो ?
नेताको नक्कली लेपन घसेर,
नेताको पगरी र जलप ओडेर
नवकमरेड त गणतन्त्रलाई
फाँसीमा झुण्ड्याउने
मौका पर्खिरहेछ ।
कमरेड होसियार !!!
डण्डिराज घिमिरे“बिबेक”

                                              Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया