Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, १६ भदौ २०७७ । कोरोना संक्रमण फैलिन नदिन २०७६ चैत ९ गतेदेखि रोक लगाइएको व्यवसायिक अन्तर्राष्ट्रिय उडान १ सय ६२ औं दिनपछि (मंगलबारदेखि) सुचारु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार पहिलो दिन नियमित उडानमा नेपाल वायुसेवा निगमको एउटामात्रै उडानको तालिका रहेको छ ।

उनका अनुसार निगमको वाइडबडी राति जापानको नारिता उड्दै छ । लकडाउनको ५ महिनापछिको यो नै पहिलो व्यवसायिक उडान हो । निगमका अनुसार यो उडानमा काठमाडौंबाट १ सय ७१ जना जाँदै छन् भने नारिताबाट २ सय २० जना यात्रु बुधबार दिउँसो काठमाडौं आउँदैछन् ।

मंगलबार चार्टर तथा कार्गोतर्फ ५ वटा उडान भए । विमानस्थलका अनुसार नेपाल वायुसेवा निगमले दोहाबाट १ सय ३८ जना र हिमालय एयरलायन्सले १ सय २६ यात्रु ल्याएका थिए । त्यसैगरी नेपाल वायुसेवा निगमको एउटा विमान कुवेत गएको थियो । कार्गो चार्टर उडानतर्फ एयर अरेबियाले सारजहाबाट ६६ सय ५० केजी कार्गो ल्याएर आएको थियो भने कार्गो लिन हिमालयको जहाज साझ कुन्मिङका लागि उडेको थियो ।

विमानस्थलमा चार्टर र नियमित उडानबाट आउने यात्रुहरुलाई छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० मातहतको सैनिक टोलीले काठमाडौंका चार स्थानमा बनाइएका होल्डिङ सेन्टरमा लैजाने गरेको छ ।

सीसीएमसीका एक सहसचिवका अनुसार ती सेन्टरमा यात्रुहरुको विस्तृत विवरण लिइसकेपछि मात्रै छाडिने गरेको छ ।

तर नियमित उडानमा काठमाडौं आउने यात्रुले घरसम्म जाने व्यवस्था आफैं गर्नुपर्ने सीसीएमसीले जनाएको छ । ‘सीसीएमसीले पास उपलब्ध गराइदिन्छ,’ ती सहसचिवले भने, ‘नियमित उडानमा आउने यात्रुले घरसम्म जाने व्यवस्था सवारी साधन आफैं खोजेको हुनुपर्छ ।’ तर चार्टर उडानमा आएका यात्रुहरुलाई भने सीसीएमसीले सवारी साधन खोजेर पठाउने गरेको छ । आइतबारको मन्त्रिपरिषद्ले दैनिक नियमित र चार्टर उडानबाट ८ सयसम्म यात्रुलाई काठमाडौं आउन दिने निर्णय गरेको छ ।

त्यसअघिको मन्त्रिपरिषद बैठकले भदौ १६ देखि असोज १४ सम्मको एक महिना अन्तर्राष्ट्रियतर्फ नियमित उडान खुला गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६० वटा नियमित उडानलाई अनुमति दिएको छ । तर त्यसताका दैनिक ५ सय यात्रुमात्रै ल्याउन दिने भनिएको थियो । आइतबार सरकारले ३ सय थप गर्दै दैनिक ८ सय यात्रु ल्याउन दिने निर्णय गरेपछि मन्त्रालयले चार्टर र नियमित उडानको संख्या थप्‍न मंगलबार नागरिक उड्डयन प्राधिकरणमा बैठक गरेको थियो । मन्त्रालयले बुधबार नया तालिका निकाल्ने जनाएको छ ।

सरकारले चार्टर र नियमित उडानमा आउने यात्रुको ७२ घण्टाअघिको पीसीआर जाँच अनिवार्य हुनुपर्ने भनेको छ । पीसीआर जाँच सुनिश्चित नगरी वायुसेवाले यात्रु ल्याउन पाउने छैनन् । पीसीआर नेगेटिभ भएका यात्रुले १४ दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । यदि आरटीपीसीआर जाँच गरेका र नगरेका यात्रु ल्याइएको पाइएमा वायुसेवा कम्पनीको खर्चमा सबै यात्रुलाई ७ दिन काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा राखिने छ ।

सीसीएमसीका अनुसार सोमबारसम्म ५५ हजार नेपाली विदेशबाट फर्किसकेका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया