Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १६ भदौ २०७७ । दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि आजदेखि तीन दिन बदली हुनेछ ।

मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिए।

मनसुन न्यूनचापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ ।

श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको छ ।

मंगलबार मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।

वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा मंगलबार र बुधबार भारी वर्षाको सम्भावना छ ।

पश्चिम सर्ने क्रममा बुधबार कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताए।

“थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।

प्राप्त विवरणअनुसार आज प्रदेश १ का ताप्लेजुङ र धनकुटा तथा वाग्मती प्रदेशका रसुवा र काठमाडौँमा पानी परेको छ ।

गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ ।

मंगलबार प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ ।

पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ।

अहिले मनसुन सक्रिय नै छ ।

मुख्यतः सेप्टेम्बर २३ देखि मनसुन हराउँदै जाने तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्तानबाट विस्तारै फर्किँदै जाने हुन्छ ।

त्यसपछि मात्रै नेपालबाट हट्छ । “पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो, “यसपालि पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।”

यसपालि नेपालमा औसत मनसुन रहे पनि मनसुनपूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो ।

यसबाट जनधनको ठूलो क्षति भएको छ । रासस

 

तपाईको प्रतिक्रिया