Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पाँचथर, १४ भदौ २०७७ । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ ।

पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो ।

पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावश्यक रहेकाले सङ्घीय सरकारबाट उक्त बजेट विनियोजन गरिएको मन्त्री नेम्वाङले बताए । मन्त्रालयबाट उक्त बजेट कार्यान्वयनका लागि अख्तियारी पठाइएको र कोभिड–१९ को महामारी लामो समय रहे सङ्क्रमितको उपचारमा सहयोग पुग्ने मन्त्री नेम्वाङले विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख एवं जिल्ला अस्पताल सञ्चालक समितिका संयोजक विष्णुप्रसाद सापकोटाले उपलब्ध बजेटको शीघ्र कार्यान्वयनमा जोड दिइने बताए ।

सङ्घीय संरचनानुसार प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालनको जिम्मेवारी पाएको छ । हाल २० शय्याको को अस्पताल ५० शय्या रूपान्तरित भइरहेको छ । सोअनुसार नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शय्या विस्तारसँगै चिकित्सक तथा प्राविधिक जनशक्तिसमेत थपिने सापकोटाले बताए ।रासस

 

तपाईको प्रतिक्रिया