Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १२ भदौ २०७७ । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा स्थानिय र सुरक्षाकर्मी बीचमा झडप हुँदा ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको घटना छानविन गर्न समिती गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख सुशान्त बराल छन् । गृह मन्त्रालयको निर्देशनपछि झापाका प्रमुख जिल्ला अधिकारीले छानविन समिति बनाएका हुन् । बुधवार साँझ सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय रसिकुलको मृत्यु भएको थियो । छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको प्रजिअ रानामगरले बताए ।

झापाको कत्लामारीमा अब्दुल सलाम र ताहबुल हकले गोरु काटेको सुराक पाएपछि प्रहरी उनीहरुलाई पक्राउ गर्न त्यहाँ पुगेको थियो । तर, प्रहरीसँगै सशस्त्र प्रहरीको टोली पनि त्यहाँ पुग्यो । गोरु काट्नेलाई राती जिल्ला प्रहरी कार्यालय झापामा ल्याउँदै गर्दा बाटोमा झडप भएको थियो । झडपको क्रममा सशस्त्र प्रहरीले १० राउण्ड गोली चलायो ।

अपराध अनुसन्धान र पक्राउको जिम्मा स्थानीय प्रहरीको भएपनि शसस्त्र प्रहरी गोरु काटेको गाउँमा किन पुग्यो भन्नेबारे स्थानीयले प्रश्न उठाएका छन् । सशस्त्रले अनाहकमा गोली चलाउँदा अनाहकमा निर्दोषले ज्यान गुमाएको स्थानीय प्रशासनको प्रारम्भिक निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया