Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १० भदौ २०७७। झापामा एक किशोरी सामूहिक बलात्कार आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साबिक महारानीझोडा गाविस-६ हाल गौरादाह नगरपालिका बस्ने २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका-१ बस्ने २४ वर्षीय विक्रम हास्दा रहेका प्रहरी कार्यालय झापाका प्रहरी डिएसपी राकेश थापाले जानकारी दिए। पक्राउ परेका दुवै जना हाल अर्जुनधारा नगरपालिकामा डेरा गरी बस्दै आइरहेका छन्।

उनीहरू दुवै पेसाले जेसिबी चालक हुन्। प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ४ स्थित टाङटिङ खोला नजिकैको जङ्गलमा लगेर ती दुई युवकले मंगलबार साँझ १६ वर्षीय किशोरीलाई बलात्कार गरेका थिए। अर्जुनधारा ३ घर भएकी ती किशोरी शनिश्चरे बजारबाट घर फर्किरहेकी थिइन्। ती युवकले बाटो छेकी किशोरीलाई जंगलतर्फ लगेका थिए। घटनापछि टाङटिङ खोलाको पुलमा रुँदै बसेकी ती किशोरीलाई गस्तीमा रहेको शनिश्चरे प्रहरी टोलीले सोधपुछ गर्दा घटना खुलेका थियो।

किशोरीले दिएको बयानका आधारमा शनिश्चरे प्रहरी टोलीले ती दुई युवकलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी थापाले बताए। पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनामा संलग्न दुवै युवकलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी झापा अदालतबाट बुधबार म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया