काठमाडौं, ९ भदौ २०७७ । यो वर्षदेखि कक्षा ११ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्ययन गर्नुपर्ने भएको छ । बालबालिकालाई समाजसँग परिचित गराउन र जीवन व्यवहार चलाउने कला सिकाउन नयाँ पाठ्यक्रममा उक्त विषय राखिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

जीवनोपयोगी शिक्षा नयाँ विषय हो भने सामाजिकको अध्ययनको पठनपाठन अहिले पनि कक्षा १० सम्म हुने गरेको छ ।

केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले कक्षा ११ र १२ मा अनिवार्य रूपमा उक्त विषयको पठनपाठन हुने जानकारी दिए । ‘बालबालिकालाई जे कुरा पढाउँछौं, त्यसलाई जीवन व्यवहारलाई जोड्ने काम यो विषयले गर्छ,’ उनले भने । केन्द्रले ८ कक्षासम्म बालबालिकालाई भने मानव मूल्य मान्यतामा समेटेर जीवनोपयोगी कुरा सिकाउने लक्ष्य लिएको छ । ‘कक्षा ९–१० मा जीवनोपयोगी शिक्षा अध्ययनका लागि पूर्वाधार तयार पार्छौं,’ महानिर्देशक दाहालले भने ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्रै धेरै दिएकाले जीवनोपयोगीलाई अनिवार्य विषयका रूपमा लागू गर्नुपरेको उनले जनाए । उच्चस्तरीय शिक्षा आयोग २०७५ को प्रतिवेदनले पनि बालबालिकालाई जीवनोपयोगी शिक्षा आवश्यक रहेको सरकारलाई सिफारिस गरेको थियो ।

विद्यालय शिक्षा कक्षा १–१२ को पाठ्यक्रम स्वीकृत भइसकेको छ । यो शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुन लागेको हो । पाठ्यक्रम प्रारूपको मस्यौदामा कक्षा ११ मा अनिवार्य जीवनोपयोगी र १२ मा सामाजिक अध्ययन अनिवार्य विषयका रूपमा समावेश गरिएको थियो । दुवै कक्षामा उक्त विषय सय पूर्णांकको हुनेछ । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी विषय अनिवार्य र अन्य ३ विषय ऐच्छिक गरी ६ विषय पठनपाठन हुने व्यवस्था गरिएको छ ।

शिक्षाविद्हरूले जीवनोपयोगी शिक्षा छुट्टै पाठ्यक्रम बनाएर पठनपाठन गराउन असम्भव हुने र प्रत्येक विषयसँग जोडेर लैजानुपर्ने सुझाव दिएका छन् । विज्ञहरूको सुझावअनुसार नै सामाजिक अध्ययनसँग जीवनोपयोगी शिक्षालाई एकीकृत रूपमा पढाउन लागिएको केन्द्रले जनाएको छ । कक्षा ९–१० मा उक्त विषय नभए पनि अन्य विषयसँग जोडेर जीवनोपयोगी सीप सिकाउने केन्द्रको दाबी छ । विज्ञहरूले पनि छुट्टै विषयभन्दा प्रत्येक विषयसँग जीवनोपयोगी सीप सिकाउन आवश्यक रहेको बताएका छन् ।
केन्द्रले उक्त विषयको पाठ्यक्रम स्वीकृत गरेर पाठ्यपुस्तक छपाइ थालेको छ । केन्द्रका अनुसार सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासहित ऐच्छिक विषयका पाठ्यपुस्तक निजी क्षेत्रबाट तयार हुन्छ । केन्द्रले तोकेको पाठ्यक्रमअनुसार निजी प्रकाशन गृहहरूले विषय विज्ञहरूबाट पुस्तक तयार पारेर शिक्षक–विद्यार्थीसम्म पुर्‍याउनेछन् । त्यसका लागि केन्द्रको भने स्वीकृति लिनुपर्छ । निजी प्रकाशनबाट पुस्तक तयार भएपछि केन्द्रले अध्ययन गर्ने र पठनपाठनका लागि स्वीकृति दिने प्रावधान छ ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको वार्षिक एक सय ६० घण्टा पठनपाठन हुनेछ । पाठ्यक्रममा साप्ताहिक ५ पाठ्यघण्टा पढाइ हुने व्यवस्था गरिएको छ । उक्त विषयको अध्ययनपछि विद्यार्थीले व्यक्तिगत र सामाजिक जीवनमा अनुसन्धान र सूचना तथा सञ्चार प्रविधिका साधनहरूको प्रयोगलाई जीवनोपयोगी सीपका रूपमा उपयोग गर्न सक्ने उद्देश्य राखिएको छ । इन्टरनेटको प्रयोगबाट सूचना, तथ्यांक, अध्ययन सामग्रीको खोजी र उत्तरदायी प्रयोगबारे सचेत बनाउन पाठ्यक्रमले जोड दिएको छ ।

कक्षा ११ मा विद्यार्थीले यो विषयको अध्ययनपश्चात् डिजिटल एप्लिकेसनको प्रयोग गरी घर, कार्यालय, अस्पताल र यातायात सेवा लिन सक्ने सीपहरू सिक्नेछन् भने इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग, साइबर कानुन तथा अपराधको जानकारी पाउनेछन् । खुला विश्वविद्यालयका उपकुलपति तथा पाठ्यक्रम निर्माणमा संलग्न विज्ञ प्रा.डा लेखनाथ शर्माले अहिलेसम्म विद्यालय तह पार गरेका विद्यार्थी बढी सैद्धान्तिक भएकाले सीपयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको जनाए । ‘विद्यार्थीले विद्यालय तहमा सिक्नैपर्ने सीप सिकाउने र यो तह पूरा गर्दा दैनिक क्रियाकलाप गर्न सक्ने बनाउने पाठ्यक्रमको उद्देश्य छ,’ उनले भने ।कान्तिपुर बाट

तपाईको प्रतिक्रिया

Comments