Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ७ भदौ २०७७ । झापाको गौरादह नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि लकडाउन गर्ने निर्णय गरिएको छ । गौरादह नगरपालिकाको कार्यालयमा आइतबार (आज) बसेको सर्वपक्षीय बैठकले नगरपालिका क्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको हो ।

गौरादह नगरपालिका क्षेत्र भित्र समुदाय स्तरमा कोभिड१९ को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गदै नगरपालिका भित्रका सम्पूर्ण क्षेत्र आज राती १२ बजेबाट लागू हुनेगरि भदौ २२ गते सम्मका लागि नेपाल सरकारले तोकेको अति आवश्यक सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द रहने निर्णय गरिएको छ ।

लकडाउन अवधिभर अति आवश्यक खाद्य सामग्री, दुध डेरी, साग सब्जी, माछा मासु व्यवसाय र सो व्यवसायमा सञ्चालनमा प्रयोग हुने सवारी साधनहरु प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने, बैंक तथा वित्तिय संस्थाको हकमा भने प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने, औषधी भेट्नरी तथा कृषि सामग्री पसल सञ्चालन गर्ने व्यवस्था मिलाउने, गौरादह नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण निर्माण कार्य तथा उद्योग धन्दाहरु आवश्यक सामाजिक दुरि र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरि सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

यस्तै, अटो, टेम्पो सहित सम्पूर्ण सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा रोक लगाउने, सबै होटल, व्यापार व्यवसाय पूर्ण रुपमा बन्द गर्ने, अति आवश्यक काम बाहेक बाहिर हिंडडुल गर्न रोक लगाउने र माक्सको प्रयोग अनिवार्य गर्ने, सबै वडा कार्यालयले आफ्नो मातहतमा रहेका टोल विकास संस्थासँग समन्वय गरि बाहिरबाठ घर आएकाहरुलाई वडा कार्यालय तथा नजिकैको प्रहरी कार्यालयमा सूचना गरि अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने, नेपाल सरकारले अति आवश्यक सेवा भनि तोकेका बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने निर्णय गरेको छ ।

यस्तै, गौरादह नगरपालिका का नगरप्रमुख रोहित कुमार शाहको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्र भित्र निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । गौरादहमा आज समुदाय र क्वारेन्टाइनका गरि २ पुरुषमा कोरोना संक्रमण पुष्टी भएसँगै लकडाउन गर्ने निर्णय गरिएको हो । आज विद्युत कार्यालयका १ पुरुष कर्मचारीमा र क्वारेन्टाइनमा बसेका अर्का १ पुरुषमा कोरोना पूष्टी भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया