Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, ६ भदौ २०७७ । समुदायमा कोरोना संक्रमण दिन प्रतिदिन फैलिदै गइरहेकोले थप एक साताका लागि दमकमा लकडाउन थपिएको छ । नगरपालिकामा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले कोरोना संक्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसअघि दमकमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिदै थियो तर आज नै थप १६ जनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका लकडाउन थप गर्ने निष्कर्षमा पुगेको हो ।

संक्रमित हुनेमा नेपाल बिद्युत प्राधिकरणका ७ कर्मचारी, ८ जना प्रहरी र दमक फार्मेसीका १ जनामा कोरोना पुष्टि भएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ पुगेको छ ।

दमक फार्मेसीका एक पुरुषमा कोरोना देखिएसँगै फार्मेसी सिल गरिएको छ । दमकमा समुदायमा पनि कोरोना सङ्क्रमितहरू फेला पर्न थालेको भन्दै नगरपालिकाले नगर क्षेत्रभरि गत साउन ३२ गतेदेखि लकडाउन गरेको छ । संक्रमित मध्ये अहिलेसम्म १४ जना उपचार पछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसुलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए ।

तपाईको प्रतिक्रिया