Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

दमक, ६ भदौ २०७७ । प्रदेश १ मा गएको २४ घण्टामा दमकका १६ सहित १०२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आज थप ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैक्रममा झापाको दमकमा आज फेरि समुदायकासहित १६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा विद्युत प्राधिकरणका ७ जना , जनपद प्रहरीका ८ जना र एकजना औषधी व्यवसायी रहेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमकमा ३ महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । नगरपालिकाका स्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार नयाँ संक्रमितमध्ये ८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् भने अन्य समुदायका रहेका छन् ।

यसअघि संक्रमण देखा परेका विद्युत प्राधिकरण दमक वितरण केन्द्रका कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा सोही कार्यालयका ६ जना कर्मचारी र एकजना क्यान्टिन संचालकलाई आज कोरोना पुष्टि भएको हो । त्यस्तै दमक फार्मेसीका सञ्चालकलाई पनि संक्रमण पुष्टि भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले बताए ।

त्यस्तै आन्तरिक सरुवाका क्रममा विराटनगरबाट दमक आएका ८ जना जनपद प्रहरीलाई पनि संक्रमण देखिएको छ । ती प्रहरी विराटनगरबाट आएर ड्युटीमा नगई क्वारेन्टाइनमा बसेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । कन्ट्याक्ट ट्रेसिङका क्रममा २२७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा त्यसमध्ये १७ जनाको रिपोर्ट पोजिटिभ आएको र १४ जनाको रिपार्ट आउन बाँकी रहेको अधिकृत भट्टराईले बताए ।

हिजो दमकमा एकजना शिक्षकलाई संक्रमण पुष्टि भएको थियो । यससंगै दमकमा अहिलेसम्म ५८ जना संक्रमित भएका छन् । तीमध्ये १४ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको कोभिड अस्पताल तथा विभिन्न होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य शाखाका अधिकृत भट्टराईले बताए ।

त्यस्तै मोरङका ४९, सुनसरीका ३०, भोजपुरका ३, इलामका १ र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा २० महिला र १३ पुरुष, सुनवर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ र महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै भोजपुरको अरुण गाउँपालिकाका ३ पुरुष, इलाम देउमाईका १ पुरुष तथा प्रदेश १ बाहिरका २ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हालसम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।हाम्रो दमक

तपाईको प्रतिक्रिया