Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

कमल, ४ भदौ २०७७ । समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै झापाको कमल गाउँपालिका वडा न.३ स्थित केर्खा बजार पूर्ण रुपमा सिल गरि लकडाउन गरिएको छ ।

कमल गाउँपालिका गाउँ कार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय भए अनुसार हिंजो कै मितिबाट लागु हुने गरि भदौ ९ गते राति १२ बजेसम्मका लागि वडा नं. ३ को फागुनन्द टोल र शान्ति टोल क्षेत्रको, पूर्वमा केर्खा खोला–पश्चिममा ढयाङग्री खोला–उत्तरमा पूर्व पश्चिम लोकमार्ग र दक्षिणमा निहारीका ई.बोर्डिङ स्कुलको अगाडिको तेस्रो बाटो सम्म पूर्ण रुपमा सिल गरि लकडाउन गरिएको सूचना जारी गरिएको छ ।

लकडाउन अवधिभर सो क्षेत्रमा कुनै पनि प्रकारको व्यापार, व्यवसाय, उद्योग, होटल, निर्माण कार्य बन्द गरिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्था, सहकारी, अन्य सरकारी कार्यालयको सेवा समेत बन्द गरिएको जनाइएको छ । सो अवधिभर औषधी पसल बाहेक अन्य कुनै पनि पसल खोल्न पाइने छैन । दुध डेरी बिहान ६ देखि ८ बजेसम्म र बेलुका ४.३० देखि ६.३० बजेसम्म सञ्चालन हुने सूचना जारी गरिएको छ ।

यस्तै, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी र सञ्चारकर्मी र सावरी पास भएका साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु चलाउन निषेध गरिएको छ ।

उल्लेखित क्षेत्रमा लकडाउन उल्लंघन हुने गरी कसैले कुनै पनि गतिविधि गरे या गराएमा गाउँपालिका, प्रहरी, प्रशासनद्वारा प्रचलित कानून अनुसार कारवाहि हुने जनाइएको छ ।

कमलगाउँपालिका-३ केर्खा स्थित फागुनन्द टोल विकास निवासी ८३ वर्षका वृद्धको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले ति संक्रमित वृद्धको सम्पर्कमा आएका परिवार, आफन्त र कन्टयाक्ट ट्रेसिङको आधारमा सबै व्यक्तिहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले सो क्षेत्र सिल गरि लकडाउन गरेको सूचना जारी गरिएको कमल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया