Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २ भदौ २०७७ । सरकारले विदेशमा अलपत्र कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । सोमबार कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको हो ।

त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद्ले विदेशबाट फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय गरेको थियो । तर, त्यसरी आएका कामदार बस्ने होटल क्वारिन्टिन तय नभएपछि तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।

मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ ।

उडान स्थगित भएपछि दूतावासहरुले समेत उडान स्थगन भएको सूचना निकालेका छन् । नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।

सीसीएमसीले होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया