Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १ भदौ २०७७ । नेकपाको सचिवालय बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको बैठकले दुई अध्यक्ष केपी शर्र्मा ओली र पुष्पकमल दाहालको सहमतिमा बनेको कार्यदललाई अनुमोदन गरेको हो ।

कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र थप छलफलका लागि बैठकमा पेस हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

साउन ४ गतेदेखि हुन नसकेको पार्टी सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको हो । पार्टीमा देखिएको आन्तरिक किचलो मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला सोमबार सचिवालय बैठक बोलाइएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका छन् ।

पार्टी विवाद हलका लागि कार्यदल गठनसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग भएको थियो । त्यसैअनुसार सोमबार बिहानका लागि बैठक बोलाइएको थियो ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग थियो । उनीहरुले शनिबार पनि अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सचिवालय बैठक माग गरेका थिए ।

यद्यपि पार्टीभित्रको शक्ति सन्तुलनअनुसार कार्यदल बनेको छ । कार्यदलमा रहेका पौडेल र पोखरेल प्रधानमन्त्री केपी ओलीनिकट, शर्मा र भुसाल दाहालनिकट तथा पाण्डे र रावल नेपालनिकट मानिन्छन् । कार्यदलको पहिलो बैठक शनिबार बसेको थियो ।

तपाईको प्रतिक्रिया