Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २९ साउन २०७७ । नौ दिनपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल–नेपाल समूहको बहुमत छ ।

यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।

दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।

साउन १३ मा दुवैले चालेको कदमपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । ओलीमाथि दबाब भन्दै बुधबारमात्रै दाहाल–नेपाल समूहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफू निकट केन्द्रीय सदस्यहरुको भेला गरेका थिए । उक्त भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल साथै प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । यो समूहले २१ गते पत्रकारहरुको भेला पनि गरेको थियो ।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।

तपाईको प्रतिक्रिया