Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा

गौरादह, २८ साउन २०७७ । झापाको गौरादहमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले साथै समुदायमा कोरोना संक्रमण बढ्ने सम्भावना बढेसँगै थप शतर्कता अपनाउन गौरादह नगरपालिकाले मंगलबार(हिंजो) बाट कोभिड-१९ होल्डिङ्ग आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

गौरादह-७ को जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनलाई थप व्यवस्थित गरि होल्डिङ्ग आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याइएको वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

गौरादह नगरपालिकाले अहिले ३० बेड सञ्चालनमा ल्याएको भएपनि ५० बेड क्षमता सम्मको आइसोलेसन तयार गरिने प्रवक्ता भण्डारीले जानकारी दिए । कोरोना संक्रमण अत्यधिक मात्रामा बढ्दै गएकोले संक्रमित बिरामी राख्ने ठाउँ नपाउने भएकोले पीसीआर परीक्षण पोजेटिभ देखिएका बिरामीहरुलाई केहि समय होल्डिङ्ग राख्नुपर्ने भएकोले पनि नगरपालिकाले कोभिड-१९ होल्डिङ्ग आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको जनाएको छ ।

सोमबार संक्रमण पुष्टी भएका ५ जनालाई एक दिन जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनमा राखि मंगलबार(हिंजो) नै पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ अस्पताल गोठगाउँ पठाइसकिएको छ ।

साउन २६ गते सोमबार साउदीबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका ३ जना र इलाममा कार्यरत सशस्त्र प्रहरी बलका दुई जवानमा कोरोना पुष्टी भएको थियो । उनिहरु बिदा मनाउन घर आएका समयमा होम क्वारेन्टाइनमा नै बसेका बेला पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो ।

दुई सशस्त्रमा कोरोना पुष्टी भएसँगै समुदायमा कोरोना फैलने त्रास बढेको छ । हिंजो नै कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितका परिवार तथा उनिहरुको सम्पर्कमा आएका १०० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि मेची अञ्चल अस्पताल पठाइ सकिएको छ ।

तपाईको प्रतिक्रिया