Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १७ साउन २०७७ । राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको छ ।

७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

‘विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको छ,’ उनले भने, ‘अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्छौं ।’ उनका अनुसार केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी छ । ‘प्राविधिक कठिनाइ नआए २/३ दिनमै नतिजा प्रकाशित गर्न सकिन्छ,’ उनले भने, ‘सकेसम्म बुधबार (साउन २१) भित्र गर्ने लक्ष्य राखेका छौं ।’

यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।

कार्यविधिअनुसार प्रधानाध्यापक अध्यक्ष रहेको परीक्षा समितिले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई विद्यार्थीले प्राप्त गरेको अंक सिफारिस गर्नेछ । विद्यालयले सिफारिस गरेको अंक इकाइले प्रमाणित गरी बोर्डमा पठाइसकेका छन् । सोही अंकका आधारमा ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन हुनेछ । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद्ले कोरोना संक्रमणका कारण परीक्षा सञ्चालन गर्न असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो । एसईई चैत ६ बाट सुरु हुने तालिका थियो । कोरोना महामारीका कारण सरकारले चैत ५ गते राति एसईई स्थगित गर्ने निर्णय गर्‍यो । महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै जेठ २८ गते परीक्षा नै रद्द गर्ने निर्णय गरिएको थियो ।कान्तिपुर

तपाईको प्रतिक्रिया