Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अनलाईनविचार डेक्स
झापा, १६ साउन  । गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले यस बर्ष पनि कृषकहरुलाई ढाँटेका छन् ।  नगरसभाबाट पारित नीति तथा कार्यक्रममा कृषकहरुलाई मलखादमा आवस्यक अनुदानको ब्यवस्था मिलाइने छ भनेता पनि मलखादमा अनुदान शीर्षकमा बजेट बिनियोजन नगरेर मेयर शाहले कृषकलाई ढाँटेका हुन् ।

नगरको नीति कार्यक्रममा कृषिलाई दोस्रो मुख्य प्राथमिकता राखिएको छ भनिएता पनि बजेटको प्राथमिकता कृषिलाई भन्दा राजनीतिक भागबण्डामा केन्द्रित देखिएको छ । नगर सभाले चालु आर्थिक बर्ष २०७७। ०७८ का लागि नगरमा कुल ७३ करोड २३ लाखको बजेट पारित गरेकोमा कृषि शाखाको बार्षिक बजेट तथा कार्यक्रमको लागि भने अत्यन्त न्युन १ करोड ४४ लाख मात्र बिनियोजन गरिएको छ ।

चालु आर्थिक बर्ष २०७७।०७८ का लागि पारित नीति तथा कार्यक्रममा कृषि शीर्षकमा मेयर शाहले १७ बुँदे कार्यक्रम पेश गरेका छन् । पारित गरिएका कार्यक्रमहरु मध्ये आठ वटा शीर्षकमा मात्र बजेट बिनियोजन गरिएको छ । ब्यापारिक पृष्ठभूमीका मेयर शाहाले नौं वटा शीर्षकमा वास्तविक कृषकलाई  ढाँटेका छन् ।

मेयर शाहाले नीति कार्यक्रममा समाबेश गरेका तर बजेट नछुट्याएर कृषक ढाँटेका कार्यक्रमहरु

१. नीति कार्यक्रममा कोरोना महामारीको कारण भारत लगाएत तेस्रो मुलुकबाट स्वदेश फर्किएका नगर भित्रका युवाहरुलाई स्वरोजगार बनाउन युवा कृषि उद्यम कोषको स्थापना गरी संचालनमा ल्याइने छ भनिएता पनि बजेटमा सो शीर्षकमा बजेट छुट्याइएकै छैन ।

२. नीति कार्यक्रममा नगरापलिका भित्रका सबै माटोको परीक्षण तथा उपचार गरिने छ भन्ने उल्लेख छ तर नगरको कृषि शाखाले माटो परीक्षण र उपचार शीर्षकमा बजेट निनियोजन नै गरेको छैन । नगरका ४ वटा वडाले वडामा बिनियोजित बजेटबाट माटो परीक्षणका लागि बजेट बिनियोजन गरेका छन् तर माटो उपचार शीर्षकमा भने वडाले समेत बजेट छुट्याएका छैनन् ।

३. नीति कार्यक्रममा कृषिमा यान्त्रिकरणमा जोड दिन नीजि क्षेत्रसंग सहकार्य गरी नगर भित्र एक कृषि यान्त्रिकरण युनिट स्थापना गरिने छ भनिएको छ तर नगरको कृषि शाखाको बजेटमा सो शीर्षकमा बजेट बिनियोजन नै छैन ।

४, नीति कार्यक्रममा नगरका कृषकहरुले उत्पादन गरेका केही जातका तरकारीहरु सुकाएर प्याकेजिङ गरी बाह्रै महिना बजारमा ल्याउने ब्यवस्था मिलाइने छ भन्ने कार्यक्रम पनि भाषणमा मात्र सिमित देखिएको छ बजेटमा समेटिएको छैन ।

५. कृषकलाई सामूहिक रुपमा धान सुकाउने ठाउँ तथा बोरिङ वितरण र प्रविधि समेतको आवस्यक सुरुवात गरिने छ भनेर नीति कार्यक्रममा मीठो भाषण उल्लेख छ मेयरको तर बजेटमा कार्यक्रम नै समावेश छैन ।

६. पारित नीति कार्यक्रममा मेयरको अर्को मीठो भाषण छ स्थानीय उत्पादनको बजारिकरण तथा प्रवद्र्धन गर्न मुख्य बजारहरुमा कोसेली घरको स्थापना, मुख्य बजारहरुमा पहिचान सहितको विक्रि कक्षको स्थापना गरिने भनिएता पनि सो कार्यक्रम बजेटमा छैन । केही वडाहरुले भने वडाको बजेट कोसेली घर निर्माणमा बिनियोजन गरेको पाइन्छ ।

७. विदेशबाट कृषि ज्ञान सीप सिकेर आएका युवालाई प्रोत्साहन गर्न नमुना कृषि फर्म निर्माण गर्न र कृषि प्रविधिको प्रचारमा जोड दिइने छ भनेर नीति कार्यक्रममा भनिएता पनि बजेटमा कार्यक्रम नै समावेश गरिएको छैन ।

८.सामुदायिक मौरीपालन कार्यलाई प्रोत्साहन गरी मौरीको घारमा केही अनुदानको ब्यवस्था मिलाइने छ भन्ने कार्यक्रम पनि मेयरको भाषणमै सिमित छ बजेटमा समाबेश छैन ।

९. फलफूल, तरकारी, माछा तथा मौरी जस्ता कृषि उत्पादनको विकासका लागि नगरभित्र संभाव्य पकेट क्षेत्र पहिचान गरी घोषण गरिने छ भन्ने कार्यक्रम पनि बजेटमा समावेश छेन ।

तपाईको प्रतिक्रिया