Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १२ साउन २०७७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति छिनाझम्टीको उत्कर्ष चुलिँदा सहमति खोज्न लामो समयदेखि अध्यक्षद्वयका शृंखलाबद्ध भेटवार्ताले निकास नदिने भएपछि दाहाल–नेपाल खेमाले बहुमतका आधारमा पार्टी कमिटीबाट निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

केपी शर्मा ओलीइतर खेमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग्ने विषयमा टसमस नदेखिएपछि ओली पक्ष पनि महाधिवेशनको प्रस्तावलाई पार्टी कमिटीबाट पारित गराइ दुवै पद सुरक्षित बनाउने रणनीतिमा जुटेको हो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बहुमत सचिवालय र स्थायी कमिटी सदस्यहरुको सोमबार बसेको भेलाले मंगलबार बस्ने स्थायी कमिटी बैठक स्थगित नगरी अघि बढ्ने र बहुमतका आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर जाने भन्दै बैठक रोक्न नदिने निष्कर्ष निकालेको हो ।

उपाध्यक्ष वामदेव गौतमको अनुपस्थितिमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहित बसेको करिब दुई घन्टाको बैठकमा असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक दर्जनपटक स्थगित भइसकेकाले मंगलबारको बैठक कुनैपनि हालतमा स्थगित नगरी सहमतिका आधार समाप्त भएपछि बहुमतका आधारमा अघि बढ्ने रणनीति दाहाल–नेपाल समूहले बनाएको हो ।

त्यसो त कुनैपनि हालतमा दुवै पद नछोड्ने निष्कर्ष सोमबार नै प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षका नेताहरुको भेलाले निकालेको छ ।

एकताको मर्मलाई लत्याएर बहुमत र अल्पमतमा गरिने कुनैपनि निर्णय आफूलाई स्वीकार्य नहुने ओली पक्षको अडान छ ।

महाधिवेशनअघि गरिने बहुमत–अल्पमतका खेलले पार्टी एकता नै समाप्त हुने चेतावनी ओली पक्षको छ ।

नेताहरुका एक्ला–एक्लै गरिने वार्ता केवल पदको लेनदेनमा केन्द्रित भएपछि नेकपाका एकचौथाइ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षरसमेत गरिसकेका छन् ।

स्थायी कमिटीमा नेकपा विवादको छिनोफानो नभए केन्द्रीय कमिटी बैठकका लागि मंगलबार नै पार्टी अध्यक्ष तथा महासचिवलाई हस्ताक्षर बुझाउने तयारी भएपनि आफू अल्पमतमा रहेकाले स्थायी समिति बैठकमा समेत उपस्थित नहुने प्रधानमन्त्री ओली केन्द्रीय कमिटी बैठक बोलाउन तयार हुनुहोला त रु विश्वास गरिहाल्ने अवस्था छैन ।

तर, आफ्ना रणनीति मुताबिक ओलीले पार्टी कमिटीबाटै महाधिवेशनको प्रस्ताव पारित गराउनुहोला वा दाहाल–नेपाल खेमाले ओलीलाई पदबाट राजीनामा गराउन सफल होला ? मंगलबारको बैठक भने निर्णायक हुने देखिन्छ ।इमेज

तपाईको प्रतिक्रिया