Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ११ साउन २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले स्थायी कमिटीको बैठक अनिश्चित हुँदै गइरहेको छ । साउन ६ गते छोटो समय बसेर १३ गतेका लागि स्थगित भएको स्थायी कमिटीको बैठक अनिश्चित भएको नेताहरु बताउन थालेका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइ टुङ्गो लागेपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर हालसम्म दुई अध्यक्षका बीचमा कुनै कुरा मिलेको छैन । झन् कुरा बिग्रिँदै गएको छ । चार दिनपछि साउन ९ गते दुई अध्यक्षको बीचमा भेटघाट भएको थियो ।

भेटघाटमा उनीहरुबीच कुरा मिलेन त्यसको प्रतिकृया अध्यक्ष प्रचण्डले एउटा कार्यक्रममा देखाएका थिए ।पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले पार्टीमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँग कस्तो सम्बन्ध छ भने कुरा स्पष्ट पारेका थिए । सबैले बुझ्नेगरी उनले कुरा राखेका थिए । त्यो दिनको मन्तव्यले दुई अध्यक्ष बीचमा कस्तो सम्बन्ध रहको छ भने कुरा स्पष्ट भएको छ ।

पार्टी तथा सरकार एकलौटी ढंगबाट सञ्चालन गर्न खोजिएको, नेकपा (एमाले) ओलीकै सक्रियतामा गठन भएको, नक्सा सार्वजनिक गरेको जस अ‍ोलीले मात्र लिन खोजेको, जबजको बारेमा जबर्जस्ती कुरा उठाएको, जिल्लाहरुमा नारा जुलुस गर्न लगाएको जस्ता आरोप अध्यक्ष प्रचण्डले लगाएका छन् । पछिल्लो समय पार्टीमा देखिएको विवादका विषयवस्तु प्रचण्डले एउटै मञ्चमा प्रष्ट पारिदिएका छन् ।

अर्थात ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै पनि पद छाड्न नचाहेको, बरु पार्टी फुटाउन सक्रिय रहेको, महाधिवेशन अगाडि नै जबर्जस्ती जबज स्वीकार गर्न लगाउने प्रयास गरेको, आफूलाई नै सर्वशक्तिमान देखाउन जिल्ला–जिल्लामा आफ्नो पक्षमा नारा जुलुस लगाउन लगाइएको कुरा प्रचण्डले स्पष्ट रुपमा संकत गरेका हुन्, जुन कुरामा अध्यक्ष ओलीसँग करिब डेढ महिनादेखि छलफल भइरहेको छ तर कुरा मिलेको छैन ।

अध्यक्ष प्रचण्डले यति कुरा स्पष्ट पारिसकेपछि अर्का अध्यक्ष ओलीसँग झन दुरी बढेको र तत्कालै दुई अध्यक्षका बीचमा संवाद हुने सम्भावना कम देखिएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए । पार्टीका दोस्रो, तेस्रो तहका नेताहरु दुई अध्यक्षबीच देखिएको दुरी कम गराउने प्रयास गरिरहेका छन् । जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ् लगायतका नेताहरु वार्ता र सम्वादको वातावरण बनाउन लागेको स्रोतको भनाई छ ।

साउन १३ गते ११ बजे स्थायी कमिटीको बैठक बस्ने तय भएको छ तर अहिलेसम्म दुई अध्यक्षको बीचमा संवाद भएको छैन । ‘उनीहरुको बीचमा संवाद भएन भने स्थायी कमिटीको बैठक नबस्न पनि सक्छ’ एक नेताले बताए । यद्यपि दुईटै पक्षले आ–आफ्नो शक्ति सञ्चय गर्नतिर लागेका छन् । अध्यक्ष प्रचण्डले खुमलटार र प्रधानमन्त्री ओलीले बालुवाटारस्थित आ–आफ्नो निवासमा आफ्ना गुटका नेताहरुसँग छलफलहरु गरिरहेका छन् । पार्टीको आन्तरिक समस्या समाधान गर्ने विषयभन्दा पनि आफ्नो गुट कसरी बलियो हुन्छ, त्यस विषयमा नेताहरुको छलफल हुने गरेको बैठकहरुमा सहभागी भइरहने एक नेताले बताए ।

दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछाडि हटेका छैनन, कोही लचक हुने अवस्था देखिएको छैन, त्यही भएर पार्टीको अवस्था सुधार हुनुको सट्टा दिन दिनै विग्रिदै गइ रहेको छ । एकपछि अर्को समस्या थपिँदै गइरहेको छ ।

शुरुमा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिने कुरा पार्टीमा उठ्यो, बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिने कुरा उठाए । त्यसलाई छोप्नका लागि प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्री पदबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले पनि साथ दिएको अभिव्यक्ति दिएका थिए । स्थायी कमिटी चलिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएपछि बैठकको कार्यसूची नै प्रभावित भयो र त्यसैमा बहस शुरु भयो ।

त्यसमा बहस चलिरहेकै बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकबाट चालू संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । त्यो निर्णय आएपछि स्थायी कमिटी बैठक नै स्थगित भयो । त्यसपछि दुईजना अध्यक्षबीचमा लगातार छलफल हुन थाल्यो । छलफल चल्दै गर्दा स्थायी कमिटीको बैठक पनि राख्ने काम भयो तर दुई अध्यक्षका बीचमा कुरा नमिलेपछि ती बैठकहरु स्थगित हुँदै गए ।

त्यही बीचमा प्रधानमन्त्री ओलीले दुईवटा होइन, एउटा कुनै पद छाड्ने संकेत गरेका थिए । त्यसका लागि दुवैजना अध्यक्षमा फेरि वार्ता शुरु भयो । ओलीले दुईटा पदमध्ये एउटा पद छाड्ने मनस्थितिमा रहेको खबर बालुवाटारबाट आउन थाल्यो । अब सहमति होला भनि नेताहरुमा आशा पनि जाग्यो । तर त्यही आशाको बीचमा प्रधानमन्त्री ओलीले पार्टीको महाधिवेशनका कुरा ल्याइदिए ।

मंसिरमा पार्टीको महाधिवेशन गर्ने र त्यसैबाट नेतृत्वको टुङ्गो लगाउने प्रस्ताव सचिवालयको बैठकमा ल्याएका थिए । त्यो प्रस्तावको साक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि बनाइयो । पार्टी महाधिवेशनमा जाने चर्चा शुरु भयो तर त्यो चर्चा एकरात पनि टिकेन । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग मिले भनि नेकपा नेता माधवकुमार नेपालले आरोप लगाए । त्यो आरोपलाई थेग्न नसकेर अध्यक्ष प्रचण्डले त्यसको भोलिपल्ट माधवकुमार नेपालसहितका नेताहरुलाई आफ्नो निवासमा बोलाएर आफू ओलीको पक्षमा नगएको र महाधिवेशनको प्रस्तावमा आफ्नो कुनै सहमति नरहेको प्रष्ट पारे ।

त्यो कुरा सेलाउन नपाउँदै प्रधानमन्त्री अ‍ोलीले अध्यक्ष प्रचण्डलाई महाधिवेशनसम्म जबज स्वीकार गर्न प्रस्ताव गरे । जबज स्वीकार गर्ने हो भने पद छाड्ने विषयमा विचार गर्न सकिने प्रस्ताव उनले गरेका थिए । प्रधानमन्त्री ओलीको यो प्रस्तावमा बहस चलिरहेकै बेला अध्यक्ष प्रचण्डले साउन ९ गते एकतर्फी रुपमा ‘फायर’ खोले । यसले गर्दा खुमलटार र बालुवाटारको दुरी बढेको छ । यो दुरीले गर्दा स्थायी कमिटीको बैठक प्रायः अनिश्चत भएको छ ।

तपाईको प्रतिक्रिया