Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १० साउन २०७७ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चालु आर्थिक वर्षमा कृषि विकास बैंकलाई अगुवा बैंक बनाउँदै किसानलाई ऋण सहजीकरण गर्ने र किसान क्रेडिट कार्डको पनि व्यवस्था गर्ने घोषणा गरेको छ ।

किसानलाई ऋण र अनुदानमा सहयोग पुर्‍याउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले यो कार्यक्रम घोषणा गरेको बताएको छ ।

यो सुविधा प्राप्त गर्नका लागि भने हरेक किसानले कृषि विकास बैंकमा खाता खोलेको हुनुपर्छ ।

क्रेडिट कार्ड वितरण र कृषकलाई सहजीकरण गर्ने उद्देश्यले कृषि विकास बैंकले अहिले ‘किसान एप’ बनाइरहेको छ । किसान क्रेडिट कार्ड र किसान एप एक अर्कामा सम्बन्धित हुन्छन् ।

हरेक कृषि विकास बैंकको शाखाबाट किसानको ऋण वा अनुदान स्वीकृत भएपछि कृषकले लिएको उक्त ऋण वा अनुदान रकम कार्डमा ‘लोड’ गरिन्छ र एपमा किसानको ‘प्रोफाइल’ तयार हुन्छ ।

उक्त एपमा कृषकले आफनोबारे जानकारी लिन तथा पढ्न बैंकले ‘युजर आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराउँछ ।

सोही किसान एपमै खाद्य सामग्रीको बजार मूल्य, कृषि सामग्री, मल, बीउलगायतका सामग्रीको मूल्य तथा खरिद गर्नसक्ने व्यवस्था गरिएको छ ।

किसानले प्रयोग गर्ने किसान क्रेडिट कार्ड लिएपछि उनीहरुले ‘क्यूआर कोड’मार्फत् रकम भुक्तानी गर्न सक्छन् ।

‘एटीएम’जस्तै देखिने र सोही आकारको भएपनि यो कार्ड एटीएम बुथमा चल्दैन ।

किसानले एप र कार्डकै माध्यमबाट बजार मूल्य र मौसमकोसमेत जानकारी पाउनसक्ने भएकोले कृषकलाई अझै सहयोगी हुने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बताउनुहुन्छ ।

यस कार्डको माध्यमद्वारा सरकारको कार्यक्रम पनि लक्षित वर्गसम्म पुग्नसक्ने तथा अनुदानको गलत प्रयोगसमेत रोक्नसक्ने कृषि विकास बैंकले जनाएको छ ।

कृषि विकास बैंकले हरेक गाउँ–गाउँमा कृषि सामग्री बिक्री गर्न एकरएक ‘एजेन्ट’ राख्दछ र किसानले किसान एपमार्फत् कृषि सामग्री खरिद गरी सोही एजेन्टबाट सामग्री लिन सक्छन् ।

किसानलाई नगद नै चाहिएमा पनि कार्ड लिएर नजिकैको कृषि विकास बैंकको शाखामार्फत् लिनसक्ने उपाध्यायको भनाइ छ ।

उद्यमशीलताको विकास र कर्जा प्रवाहमा सहयोग पुर्‍याउने र कृषकलाई पनि सहज बनाउने उद्देश्यसहित ल्याइएको किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा पुगेको बैंकले जानकारी दिएको छ ।

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा दीर्घकालीन वित्तीय उपलब्धता कायम गर्न कृषि ऋणपत्रसमेत जारी गर्ने व्यवस्था पनि गरेको छ ।

तपाईको प्रतिक्रिया