Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झगेन्द्र खड्का
गौरीगंज, २८ जेठ २०७७ ।  हुलाकी राजमार्ग अन्तरगत झापा र मोरङ जाड्ने रतुवा खोलाको पुलको पुर्वी छेउको उत्तर पट्टी तटबन्ध गर्ने कार्य सुरु गरिएको छ। गौरीगंज गाउँपालिकाको लगानीमा बाँसको टाटीको बेरा बनाई तटबन्ध गर्ने कार्य सुरु गरिएको छ। पुलको लम्बाई भन्दा खोलाको बगरको चौडाइ फराकिलो भएकाले पुलको पुर्व पट्टीको सडक बचाउन तटबन्ध गर्ने कार्य सुरु गरिएको गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।

वर्षादको समयमा खोलामा पानीको बाहव बढ्दा सडक भत्किएर आवतजावतमा समस्या हुने भएकाले तटबन्ध गरिएको अध्यक्ष श्रेष्ठले बताए। गौरीगंज गाउँपालिका वडा नं. ५ वालुगाउँमा रहेको प्रगतिशिल युवा क्लबलाई गाउँपालिकाले बाँसको तटबन्ध निर्माण गर्ने कार्यको जिम्मा दिएको छ। पुर्व पश्चिम सडकको उत्तरपट्टी करिब २ सय ५० मिटर बाँसको तटबन्ध र सडकमा माटो भर्न र गिट्टी ओछ्याउनका लागि ६ लाख ५० हजार रूपैयाँमा जिम्मा लिएको क्लबका अध्यक्ष अर्जुन कार्कीले जानकारी गराए।

तटबन्ध निर्माणका लागि दैनिक २५ जना भन्दा बढी युवाहरू खटिरहेकोले हप्ता दिन सम्ममा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष कार्कीले बताए । बर्षादको समयमा खोलाको कटानबाट पुल पुर्वपट्टिको भागलाई बचाउन सके पुल माथिबाटै आवतजावत गर्न सकिने भएकाले पुलको पुर्व पट्टीको भागमा कुनै समस्या आउन नदिन युवा क्लबले हरप्रयास गर्ने जनाइएको छ। गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यस वर्षको वर्षातमा पुलमाथिबाट नागरिकहरूलाई आवतजावतमा समस्या आउन नदिन गाउँपालिकाले पुलको पुर्वपट्टीको भागमा तटबन्धको कार्य शुरू गरेको बताए। पुलको पुर्व पट्टीको भागमा तटबन्ध गरेपछि सडक सुरक्षित हुने भएकाले वर्षायाममा नागरिकहरूले आवतजावतमा कठिनाई झेल्नु नपर्ने र वर्षातमा पुल माथिबाट नागरिकहरू आवतजावत गर्न सकिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ।

पुलमुनि छेउमा करिब १० मिटर ढुंगा जाली ओछ्याई बाटोलाई अझ बलियो पार्ने गाउँपालिकाको योजना रहेको उनले बताए। पुल निर्माण ५ वर्षअघि नै भइसकेता पनि पुल निर्माण एकातिर र खोलाको पानी अर्कातिर बग्दा पुलमाथिबाट आवतजावत हुन सकेको थिएन। गौरीगंज गाउँपालिकाकाले पुलको पुर्व तर्फ र मोरङको रतुवामाई नगरपालिकाले पश्चिम तर्फबाट पुलको उचाई बराबरको सडक निर्माण गरेकाले नागरिकलाई आवतजावतमा सहजता भएको छ।

आयोजनाले रतुवा खोलामा २ सय ५ मिटर लम्बाइको पुल निर्माण गरेता पनि खोला पुलमुनिबाट नभई पुलको पुर्वी भागबाट बगिरहेको थियो। आयोजनाले उक्त पुल आव २०६४/०६५ मा काठमाडौंको कालिका ओएसिस जेभीलाई ठेक्का दिएको थियो। भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन नसक्दा सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

आयोजनाको कार्यालय प्रमुख कैलाश साहले विभागको निर्देशन अनुसार काम नगर्दा पुल संचालनमा नआएको हो। झापा र मोरङका दक्षिणी भेगका बासिन्दाका लागि अति आवश्यक रहेको पुल संचालनमा नआउदा झापाका साविक गौरीगन्ज, खजुरगाछी, कोहबरा, कोरोबारी तथा मोरङका साविकका सिजुवा, इटहरा, झुर्किया, महादेवा लगायत अन्य गाविसका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए।

हिउँदमा केही सहज भए पनि वर्षायाममा खोला तर्न डुंगाबाट जोखिमपूर्ण यात्रा गरिरहेका थिए। हुलाकी राजमार्गबाट विराटनगर यात्रा गर्दा गौरीगन्जदेखि विराटनगर करिब ४५ किलोमिटरको दूरीमा पर्दछ। रतुवा खोलाको पुल सञ्चालनमा आए गौरीगन्जबाट करिब एक घण्टामा प्रदेश राजधानी विराटनगर सहजै पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया