Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनविचार संवाददाता

गौरादह, २६ जेठ २०७७ । गौरादह नगरपालिकाले कृषिलाई प्राथमिकता दिदै समाजवाद उन्मुख नीति कार्यक्रम र बजेट बनाउनु पर्ने सहभागिहरुले धारणा राखेका छन् । गौरादह नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ को नीति बजेट तथा कार्यक्रमको पूर्व तयारी र रायसुझाव संकलनका लागि आयोजना गरेको कार्यक्रममा अधिकांश बक्ताहरुले कोरोना महामारीका कारण बैदेशिक रोजगारबाट फर्किएका र स्वदेशमै कृषि क्षेत्रमा काम गरिरहेका जनशक्तिहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।

कृषि क्षेत्रमा आश्रित किसानहरुलाई कृषिमा आधुनिकिकरण र यान्त्रीकरण गरी कृषि उपज भण्डारण तथा बजारिकरणको ब्यवस्थापनमा स्थानीय सरकारले आगामि बर्षको नीतिकार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने धारणा राखेका थिए । कृषि प्रधान नगरलाई कृषिको माध्यमबाट आर्थिक रुपमा समृद्ध बनाउने कार्यक्रम ल्याउन सकेमा मात्र समाजवाद उन्मुख बजेट बन्न सक्नेमा जोड दिएका हुन् ।

सुझाब संकलन कार्यक्रममा सहभागिहरुले कोरोना माहामारीलाई केन्द्रमा राख्दै स्वास्थ्य,भौतिक पूर्वाधार, शिक्षा, खानेपानी, संचार लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखी आगामी बर्षको नीति कार्यक्रम तथा बजेटमा समाबेश गराउन सुझाब दिएका छन् । कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिकहरु कृषिमा आश्रित रहेकाले कृषि क्षेत्रलाई प्रर्वद्धन गर्न नगरपालिकाले बिशिष्ट नीति बनाउन आवस्यक रहेको धारणा राखेका छन् । किसानहरुलाई कृषि क्षेत्रमा ब्यवसायीक बनाउन कृषि उत्पादन, भण्डारण र बजारीकरणमा नगरपालिकाले बजेट मार्फत सम्बोधन गर्नुपर्ने भन्दै सभासद कार्कीले नगर भित्र कोल्ड स्टोर, बिउबिजन प्रसोधन र भण्डारणको ब्यवस्था स्थानीय सरकारले गर्नुपर्ने बताएका छन् ।

राप्रपाका झापा जिल्ला अध्यक्ष अम्मर बिष्टले नगर भित्रका आर्थिक अवस्था न्युन भएका बिपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बिमा गर्नुपर्ने बताउदै नगरपालिका भित्र उत्कृष्ट काम गर्ने ब्याक्तिहरुलाई स्थानीय सरकारले सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

नेकपाका जिल्ला नेता मदन अधिकारीले नागरिकको जीवन स्तर उकास्दै नगरको दिगो विकास गर्ने आगामि बर्षको बजेटमा नगरपालिकाले प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । नेपाली कांग्रेसका नेता अनिलकृष्ण प्रसाईंले नगरभित्र रहेका दुईवटा कृषि क्याम्पसका जनशक्तिलाई किसानको पहुँच सम्म पुर्याउन सकेमा कृषि उपजबढाई गौरादहको समग्र विकास सम्भव रहेका धारणा राखे ।

कार्यक्रममा नेकपाका पुष्पलाल ढकाल, नेपाली काँग्रेसका नगरसभापति यादवराज सेढाईं, नेकपाका नगर इन्चार्ज हुकुम नेपाली, नेकपाका नगर अध्यक्ष मित्रदेव काफ्ले, उद्योग वाणिज्य संघ गौरादहका अध्यक्ष जेबी कार्की लगाएतले सुझाब राखेका थिए । सुझाव कार्यक्रमको समापनमा नगर प्रमुख रोहित कुमार शाह र उपप्रमुख गीता भेट्वालले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया