Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सुनसरी, २२ जेठ । घरमा आगलागी हुँदा आमा छोरीको जलेर मृत्यु भएको छ । धरानमा बिहीबार बिहान एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगलागी धरान–१५ बाझगराको स्वीमिङ पुल लाइनस्थित नरबहादुर श्रेष्ठको घरमा भएको हो ।

आगलागी भएको दुई तलेघरको तल्लो तला सिमेन्टको पक्कीको छ भने माथिल्लो तल्ला काठको थियो ।आगलागीबाट मृत्यु हुनेहरुमा श्रेष्ठका ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीयासीता श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार आगलागी बिहान करिब सवा ८ बजे भएको थियो ।

स्थानीय समुदाय र धरानको दमकलले करिब १ घण्टामा आगो नियन्त्रण गरेका थिए । आगलागीबाट श्रेष्ठको माथिल्लो तल्ला पूर्णरुपले जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण पछि जलेको अवस्थामा आमा छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । दुवैको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी गृहमा लगिएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएसँगै धनमाल क्षतिको विवरण भने आइसकेको छैन ।

तपाईको प्रतिक्रिया